© २०२३
काठमाडौं, २३ कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।
उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउनु आवश्यक रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रपति पौडेलले युवा पुस्तामा सुशासन र विकासप्रतिको बढ्दो चाहनालाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए ।
उनले लोकतन्त्रको सुदृढीकरण र जनताले त्यसको प्रतिफल पाउने वातावरण निर्माणमा सञ्चारमाध्यमको योगदान महत्वपूर्ण हुने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले देशमा सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरका विषयमा नागरिकलाई सूचित गर्ने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
उनका अनुसार सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो । त्यसैले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हो ।
राष्ट्रपतिले प्रविधिको दुरुपयोग गरी भ्रम, मिथ्या तथा संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्ने प्रवृत्तिबाट जोगाउन जिम्मेवार सञ्चारमाध्यमको भूमिका अपरिहार्य भएको धारणा राखे ।
त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आमसञ्चार माध्यमलाई व्यवसायिक रूपमा अघि बढाउन प्रसारण सामग्रीको गुणस्तर र विषयवस्तुमा ध्यान दिन आग्रह गरे ।
मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारणले फरक र सिर्जनात्मक सामग्री प्रस्तुत गर्नुपर्ने चुनौती रहेको भन्दै, संस्थालाई दिगो रूपमा अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको थियो । साथै, नयाँ च्यानल **‘एन टिभी वर्ल्ड’**को पनि शुभारम्भ गरिएको थियो ।