© 2026
काठमान्डौ, २३ कार्तिक ।
जेन–जी आन्दोलनपछि सक्रिय रूपमा अगुवाहरूको अनुहार समेटेर गठन भएको ‘नेपाल जेन–जी फ्रन्ट’ले सातै प्रदेशका संयोजकहरू तोकेको छ । शनिबार प्रदेश संयोजकहरूको घोषणा गर्दा ६ वटा प्रदेशको नाम स्पष्ट भए पनि कोशी प्रदेशको नाम भने उल्लेख नगरी प्रदेश नम्बर १ भनेर तोकिएको छ ।
प्रदेश सभाले कोशी नामकरण गरिसकेको भए पनि, एक समूहले किराँत पहिचान झल्किने गरी नामकरण गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ । यस्तो परिस्थितिमा नेपाल जेन–जी फ्रन्टले कोशी प्रदेशको नामलाई अस्वीकार गरेको हो ।
फ्रन्टकी संयोजक रक्षा बमले स्थानीय जनताको माग र आन्दोलनरत पक्षको भावना नसमेटेर गरिएको नामकरण स्वीकार्य नहुने बताइन् । उनले भनिन्, “प्रदेशको नामकरण गर्दा त्यहाँका जनताले अपनत्व महसुस गर्नुपर्छ । यदि जनताले नै अपनत्व महसुस नगर्ने नामकरण गरियो भने त्यसको कुनै अर्थ हुँदैन ।”
बमका अनुसार, नामकरणको निर्णय गर्दा स्थानीय सरोकारवाला र आन्दोलनरत पक्षहरूसँगको छलफल महत्त्वपूर्ण छ । अहिले ठोस नाम तोक्नुभन्दा विवाद समाधानका लागि सबै पक्षसँग वार्ता र सहमति आवश्यक रहेको उनी बताउँछिन् । भविष्यमा आउने जुनसुकै निर्णय पनि स्थानीय बासिन्दाको मागलाई सम्बोधन गर्दै आउनुपर्ने र त्यस निर्णयलाई फ्रन्टले स्वीकार्ने बमले स्पष्ट पारिन् ।
संयोजक बमले जोड दिइन्, “जेन–जी फ्रन्टले कोशी प्रदेशको नामकरणलाई स्थानीय जनताको भावना र अपनत्वको कसौटीमा हेर्छ । स्थानीय जनताले जुन नाम मन पराउँछन्, हाम्रो पनि त्यही नाम हुनेछ ।” उनले हालको अवस्थामा यस विषयमा विवादमा प्रवेश गर्ने बेला नभएको धारणा पनि राखिन् ।