© २०२३
काठमान्डौ, २३ कार्तिक ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरु भएको भए पनि बीचबीचमा स्थगित हुँदै आइरहेको छ । आजका लागि तय गरिएको बैठक पनि पुनः स्थगित गरिएको छ । अब आगामी कात्तिक २५ गते बिहान ११ः३० बजे बैठक बस्ने भएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कात्तिक २३ गतेका लागि बोलाइएको बैठक दुई दिन पछाडि सारिएको जानकारी दिएका छन् । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमै बस्नेछ ।
गत शनिबार पार्टीले आकस्मिक बैठक बोलाएको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । पार्टीले आज देशभरका आफ्ना कार्यालयहरू बन्द गरी शोक मनाइरहेको छ ।
असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसयता स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकले अझै पार्टी महाधिवेशनको कार्यतालिका टुंगोमा पुर्याउन सकेको छैन ।
महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्, तर सो प्रस्तावमा सर्वसम्मति जुट्न सकेको छैन । सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तसम्म महाधिवेशन उपयुक्त हुने मत राखेका छन् भने केन्द्रीय सदस्य मधु आचार्यले मंसिर २४ गतेदेखि विशेष महाधिवेशन आह्वान गर्न सुझाव दिएका छन् ।
विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । तर, पार्टीभित्र अहिले पनि नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद कायम छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र केही सभापति देउवानिकट सदस्यहरू फागुन २१ को आमचुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, सभापति देउवानिकट केही पदाधिकारी र पूर्वपदाधिकारीहरू भने चुनावपछि, अर्थात् वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छन् ।