© २०२३
पाल्पा, ५ पुस ।
स्थानीय तहमा १५ शैयाको सुविधा सम्पन्न अस्पतालको पूर्वाधार निर्माण कार्य अघि बढेको छ । जिल्लाको पुर्वखोला, माथागढी, निस्दी गाउँपालिकामा भण्डै दुई वर्ष अगाडि सुरु भएपनि चालु आर्थिक वर्षबाट निर्माण कार्य अगाडि बढेको हो ।
पुर्वखोलाको बिरकोट, माथागढीको झडेवा, निस्दीको रुप्से भज्याङमा पालिका तहको स्वास्थ्य सस्थाको भवन निर्माण कार्य अगाडि बढेको छ । ०७८ सालको असार २३ गतेबाट विरकोटमा निर्माणको कार्यारम्भ गरेको निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक प्रगती गरेको स्थानीय सरकारका प्रमुख नुनबहादुर थापाले बताए । आउने वर्षको असार २३ मा सम्पन्न गर्ने गरी १२ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
माथागढी गाउँपालिकाको झडेवामा निर्माणको क्रममा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको माथागढी सरकारका प्रमुख यम बहादुर चिदीले बताए । दुई वर्षमा निर्माण कार्य पुरा गर्ने गरी १२ करोड ५० लाख रुपैयाँमा गतवर्षको असारमा ठेक्का संझौता भएको थियो । भौगोलिक विकटताका कारण आधारभुत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भनेर नै आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण गर्न लागिएको हो । निस्दी गाउँपालिकाको रुप्से भज्याङमा निर्माणाधीन भवनको २२ प्रतिशत भौतिक प्रगति भएको निस्दी सरकारका प्रमुख मुक्तबहादुर सारुले बताए । दुई वर्षमा निर्माण कार्य पुरा गर्ने गरी १६ करोड ६८ लाख रुपैयामा ठेक्का संझौता भएको थियो ।
भुक्तानीको लागि रकमको समस्या
सरकारले रकमको सुनिश्चितता नगरी एकाएक सबै स्थानीय निकायमा १५ शैयाको स्वास्थ्य संस्थाको निर्माण गर्ने उदघोष गरे पनि निर्माणको कामको जिम्मेवारी लिएका निर्माण व्यवसायीले रकम भुक्तानी नपाएको गुनासो गर्न लागेका छन् । स्वास्थ्य संस्थाको पूर्वाधारको निर्माणको कार्य अगाडि बढेको स्थानीय तहहरुले निर्माण व्यवसायीहरुलाई रनिङ बिलको आधारमा बिल भुक्तानी गर्नुपर्ने हो तर स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट रकम नआउँदा भुक्तानीमा समस्या भएको माथागढी गाउँपालिकाका इन्जिनियर धर्मेन्द्र यादवले बताए ।
समयमा भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीले समयमा निर्माण कार्य पुरा गर्नेमा सम्वद्ध प्राविधिकहरुले आशंका व्यक्त गरेका छन् । निर्माण व्यवसायीले उधारोमा सामान खरिद गर्नु पर्ने र कामदारलाई रकम भुक्तानी गर्न नसक्दा काम गर्न कठिन भएको निर्माण व्यवसायीहरु बताउँछन् ।