© २०२३
काठमान्डौ, २१ कार्तिक ।
संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्दैछ । बैठक राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।
जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले प्रशासन सुधारका नाममा संघीय संसद्का पदाधिकारी र सांसदहरूले पाउँदै आएका कर्मचारी सुविधा कटौती गर्ने निर्णय गरेपछि संघीय संसद् असन्तुष्ट बनेको छ ।
कर्मचारी कटौतीलगायतका निर्णयप्रति असन्तुष्टि जनाउँदै संघ र प्रदेश सभाका पदाधिकारीहरूले यस विषयमा संयुक्त छलफल गर्ने तयारी गरेका हुन् । एक पदाधिकारीका अनुसार सोही विषयमा थप रणनीति तय गर्न आजको बैठक आह्वान गरिएको हो ।
यसअघि प्रतिनिधिसभाका सभामुख देवराज रिमाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, दुबै सदनका उपसभामुख तथा उपाध्यक्ष, र संसद् सचिवालयका महासचिवलगायतका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी असन्तुष्टि प्रकट गरेका थिए ।
प्रधानमन्त्री कार्कीसँगको भेटमा सभामुख र अध्यक्षहरूले संघीय संसद् राष्ट्रको प्रमुख अंग भएकाले कर्मचारी कटौतीले संसद्को कामकारबाहीमा प्रत्यक्ष असर परेको बताएका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले उक्त विषयमा अर्थमन्त्री तथा अर्थमन्त्रालयका अधिकारीहरूसँग छलफल गरी आवश्यक निर्णय लिने आश्वासन दिएकी थिइन् ।