Butwal Today

सगरमाथा क्लबले जित्यो दोस्रो नेपालगन्ज नेशनल स्विमिङको उपाधि

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

नेपालगन्ज, १६ कात्तिक ।

ललितपुरको सगरमाथा स्विमिङ क्लबले दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ को उपाधि हात पारेको छ ।

नेपालगन्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथाले २७२ अङ्क हासिल गर्दै सहज जित दर्ता गरेको हो । यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जितेका थिए ।

कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भए । उनीहरूलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी सङ्घका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अङ्क ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो ।

बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अङ्कसहित तेस्रो भएको छ । त्यसै गरी लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोसी प्रदेशले २०, काठमाडौँको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौँले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अङ्क ल्याएको क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो ।