© 2026
काठमान्डौ, २४ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दल र सरकारसँग छलफल गर्न लागेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो आयोजना हुने बैठकमा उनी सरकार र प्रतिनिधित्व गर्ने दलहरूसँग संवाद गर्नेछन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ । तर निर्वाचनको ‘स्टेकहोल्डर’ राजनीतिक दलहरूसँग आवश्यक संवाद अगाडि नबढेकाले राष्ट्रपति पौडेलले पहल गर्नु परेको बताइएको छ ।
राष्ट्रपतिको निकट स्रोतका अनुसार, बिहीबार प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि दलहरूसँग छलफल गर्ने निष्कर्षमा राष्ट्रपति पुगेका हुन् । भेटमा राष्ट्रपति पौडेलले निर्वाचनको सुचारु वातावरण बनाउन सबै राजनीतिक दलसँग संवाद आवश्यक रहेको र त्यसमा पहल गर्न आग्रह गरेका थिए ।
त्यसै क्रममा, प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण तयार पार्न दलहरूसँग संवादको पहल गर्न राष्ट्रपति पौडेलसँग अनुरोध गरेकी थिइन् । सो अनुरोधपछि राष्ट्रपति पौडेलले आजको लागि बैठक बोलाएका हुन् ।