Butwal Today

प्रतिनिधि सभा विघटनपछि तीन तहको निर्वाचन छुट्टाछुट्टै चरणमा हुने

१६ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १६ असोज ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएपछि आगामी दिनमा तीन तहको निर्वाचन तीनवटै चरणमा हुने निश्चितजस्तै भएको छ ।

यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकसाथ गरिएको थियो । तर, प्रतिनिधि सभा पाँच वर्षे कार्यकाल पूरा नहुँदै विघटन भई नयाँ निर्वाचनको मिति तोकिएपछि अब एकै पटक निर्वाचन हुने अभ्यास टुट्ने भएको हो ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ मा तय भएको भए पनि प्रदेश सभाको निर्वाचन २०८४ सालमा मात्रै हुनेछ । त्यसअघि नै स्थानीय तहको निर्वाचन पनि सोही वर्ष वैशाख महिनामा हुनेछ ।

प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिने गरी चुनाव हुँदा २०८४ को मंसिर वरिपरी नै चुनाव हुनेछ ।

तर, स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिँदा स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरी नै हुनेछ ।

आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ । नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।
यसअनुसार २०८४ सालमा प्रदेश सभा र स्थानीय तहको निर्वाचन क्रमशः वैशाख र मंसिरमा अलग–अलग चरणमा सम्पन्न हुने छन् ।

यसअघि तीनै तहको निर्वाचन एकैचोटि गर्दा संघीय सरकारको कार्यकाल पनि समाप्त हुँदै नयाँ सरकार गठन हुने अवस्था आउँथ्यो । तर अब प्रतिनिधि सभा अगावै विघटन भइसकेकाले त्यो अभ्यास दोहोरिने छैन ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन पश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधि सभा विघटन भयो र आगामी फागुन २१ गते निर्वाचन मिति तोकियो ।

प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेका हुन् ।

तोकिएको समयमा निर्वाचन भएको अवस्थामा तीन तहको निर्वाचन तीन वटै चरणमा हुने वातावरण बन्ने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

उनीहरू एकै पटक तीन तहको निर्वाचन गराउनेबारे छलफलमा थिए । तर, प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति तय भएपछि तीन तहको चुनाव तीन चरणमा नै हुने वातावरण सिर्जना भएको हो ।