© २०२३
काठमाडौं, २८ मंसिर ।
नागरिकता प्रकरणमा छानविनको क्रममा रहेका रवि लामिछानेको सांसद पद खारेजीमो माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर भएको हो । लामिछानेको नेपाली नागरिकता नभएको भन्दै यसअघि निर्वाचन आयोगमा उजुरी परेको थियो । अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
प्रहरी अनुसन्धान जारी रहँदा यसको निरुपण सर्वोच्चबाट हुनुपर्ने भन्दै रिट दायर भएको हो । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।
रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लंघन गरेको दावी गरिएको छ ।
‘नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, निर्वाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्यवस्था विपरीत काम कार्यवाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्वजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु’ रिटमा भनिएको छ ।
रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ ।