© २०२३
दोहा (कतार), २१ भदौ ।
कतारमा रहेका सुदूरपश्चिमेली नेपालीले आफ्नो मौलिक पर्व गौरा यस वर्ष पनि धूमधामका साथ मनाएका छन् । सुदूर पश्चिमेली नेपाली समाज कतारको आयोजनामा समाजको दशौँ वार्षिकोत्सव तथा गौरा विशेष कार्यक्रम–२०२५ शुक्रबार सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो ।
नेपाली राजदूतावास कतारका राजदूत रमेशचन्द्र पौडेल दीप प्रज्वलन र पञ्चेबाजा पूजा गरेर कार्यक्रमको उद्घाटन गर्दै नेपालकै मौलिक संस्कृति कतारमा पनि जगेर्ना गर्न पाउनु गौरवको कुरा भएको बताए । “गौरा पर्वले संस्कृतिलाई उजागर गर्ने मात्र होइन, अनेकतामा एकताको सन्देश पनि फैलाउने पर्व हो,” उनले भने ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा गौरा माताको मूर्ति पञ्चेबाजासहित सभाहलमा भित्र्याइएको थियो । बाल कलाकार अनुराधा खत्रीले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमको सुरुवात रमाइलो बनाएको थियो । एक दर्जनभन्दा बढी स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने छलिया–हुड्केली नृत्यले थप आकर्षण जोडेको थियो ।
नेपालबाट आएका अतिथि कलाकार उमा शङ्कर जोशी र महेश कुमार औजिले देउडा र लोकगीत प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतिमा दर्शकले गोलो घेरा बनाएर रमाइलोका साथ नाचेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष गोरख चन्द ठकुरीले आपसी एकता र सद्भावलाई बलियो बनाउन यस्ता पर्वको महत्वपूर्ण भूमिका रहने बताए ।