Butwal Today

अरब सागरबाट जलवाष्पयुक्त हावा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ ।

हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ, भने बाँकी भू-भागहरूमा आंशिक बदली देखिएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमानअनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही भागहरूमा पनि एक-दुई स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।