Butwal Today

वाङ यीको भनाइ: चीन र भारत शत्रु होइनन्, साझेदार बन्नुपर्छ

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

चीनका विदेशमन्त्री वाङ यीले चीन र भारत एकअर्काका शत्रु नभई साझेदार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  दुई दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका वाङले समकक्षी एस. जयशंकरसँगको भेटमा दुई देशबीचको सम्बन्ध अब सहकार्य र समझदारीको दिशामा अघि बढ्नुपर्ने उल्लेख गरेका हुन् ।

वर्षौंदेखि जारी तनाव र अविश्वासपछि चीन र भारतबीच पछिल्लो समय द्विपक्षीय संवाद र उच्चस्तरीय भेटघाटहरू नियमित हुँदै गएका छन् ।

पाँच वर्षअघि सन् २०२० मा गलवान उपत्यकामा भएको घातक सैन्य झडपपछि दुवै देशको सम्बन्धमा चिसोपना आएको थियो। तर हाल चीन र भारत विगतका कटुताहरूलाई बिर्सँदै सम्बन्ध सुधारतर्फ अग्रसर भएको संकेत देखिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट हुनु अगावै विदेशमन्त्री वाङले दुई देशबीचको सम्बन्ध सकारात्मक मोडमा अगाडि बढिरहेको बताएका छन् ।

विदेशमन्त्री जयशंकरले पनि कठिन अवधिपछि सम्बन्ध सामान्यीकरणको प्रयास भइरहेको पुष्टि गरेका छन् । भेटमा कैलाश मानसरोवर तीर्थयात्राको पुनः सञ्चालन, नदीको जलप्रवाहसम्बन्धी तथ्यांक आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो ।

वाङले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि मंगलबार भेट गरेका छन् । प्रतिनिधिमण्डलस्तरीय बैठकमा उनले सीमामा स्थिरता कायम रहन थालेकोप्रति सन्तुष्टि जनाउँदै पछिल्ला केही वर्षमा देखिएको असफलता दुवै देशको हितमा नरहेको बताएका थिए ।

यता पछिल्लो समय अमेरिकाले रुससँग तेल कारोबार गरेको भन्दै भारतमाथि भन्सार दर ५० प्रतिशत पुर्‍याएपछि भारतले चीनसँगको सम्बन्ध सुधारमा बढी चासो देखाएको बुझिएको छ ।

विदेशमन्त्री जयशंकरले क्षेत्रीय सन्तुलन र निष्पक्ष अन्तर्राष्ट्रिय व्यवस्था निर्माणमा भारतको पक्ष स्पष्ट रहेको उल्लेख गरे ।

यसै महिनाको अन्त्यतिर प्रधानमन्त्री मोदी सांघाई कोअपरेसन अर्गनाइजेसनको वार्षिक बैठकमा सहभागी हुन चीनको तियान्जिन जाँदैछन् ।

सो अवसरमा उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ । गत वर्ष अक्टोबरमा रुसमा भएको मोदी–सी भेटपछि दुई देशबीचको चिसिएको सम्बन्धमा केही सुधार आएको आकलन गरिएको थियो ।