Butwal Today

रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालबाट प्लाइउड हटाइयो

२९ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २९ साउन ।

रुपन्देही कारागारमा संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहमा झ्यालमा राखिएको प्लाइउड हटाई जाली राखिएको छ । कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आउन थालेपछि कारागार कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्पष्ट पारेको हो ।

कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई राखिएको बन्दी कोठाको झ्याल पहिले प्लाइउडले छोपिएको थियो। यस विषयमा प्रश्न उठेपछि अहिले उक्त प्लाइउड हटाएर त्यस ठाउँमा जाली जडान गरिएको छ। कारागार प्रशासनले लामिछानेलाई सुरुदेखि नै विशेष सुरक्षाका कारण छुट्टै बन्दीगृहमा राखिएको जनाएको छ ।

साथै, उक्त कोठामा छुट्टै शौचालयको व्यवस्था गरिएको र प्रारम्भदेखि नै टेलिफोन तथा भेटघाट सुविधा पनि उपलब्ध गराइएको सूचनामा उल्लेख गरिएको छ।

२५० जनाको क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा झन्डै तीन गुणा बढी बन्दी भए पनि कारागार प्रशासनले उपलब्ध स्रोत–साधन प्रयोग गरी कानुन अनुसारको सेवा सुविधा उपलब्ध गराइरहेको जनाएको छ।