© २०२३
काठमाडौं ।
लोकप्रिय लोक तथा दोहोरी गायिका विष्णु माझीले यस वर्षको तीजका लागि नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक गरेकी छन् । बुधबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतलाई ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा प्रस्तुत गरिएको छ।
गायिका माझीका श्रीमान् सुन्दरमणि अधिकारीले गीतको शब्द र संगीत संयोजन गरेका छन् । भिडियोमा विगत वर्षकै चर्चित मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् । यसपटकको भिडियोमा करिब ६० जना कोरस डान्सर समावेश छन् । नृत्य निर्देशन मौसम हिमालीले गरेका छन् भने छायांकन शम्भु चालिसे र सम्पादन प्रविन भट्टको रहेको छ।
विष्णु माझी सार्वजनिक रूपमा देखिँदैनन्, तर उनका तीज गीतहरू हरेक वर्ष प्रतीक्षित रहने गरेका छन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले तीज विष्णु माझीको गीत बिना नपुगेको महसुस हुने प्रतिक्रिया दिएका छन्।
यस वर्षको गीत ‘म त नराउरी’ ले पनि नारीका वेदना, माइतीघरको याद र घरेलु संघर्षको कथा बोकेको छ। गीत सार्वजनिक भएलगत्तै दर्शक–श्रोताबाट मिश्रित प्रतिक्रिया प्राप्त भइरहेको छ। केहीले यसलाई मर्मस्पर्शी र उत्कृष्ट भनेका छन् भने केहीले अघिल्ला गीतको जस्तो प्रभाव नभएको प्रतिक्रिया दिएका छन्।
तर, विष्णु माझीको स्वर, विषयवस्तु र तीज भावनालाई गीतले जीवन्त बनाएको भन्दै अधिकांश दर्शकहरूले गीतलाई मन पराइरहेका छन्। गीतले यसपालिको तीजको माहोललाई थप जीवन्त बनाउने विश्वास गरिएको छ।