© २०२३
काठमाडौं ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। निजामती सेवा विधेयकमा देखिएको गम्भीर त्रुटिको जिम्मेवारी स्वीकार्दै उनले प्रतिनिधिसभाको बैठकमै राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामाअघि संसदमा सम्बोधन गर्दै खतिवडाले आफू शुरूदेखि नै सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियड लागू हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको र त्यसैअनुसार समितिको काम अघि बढेको दाबी गरे । उनले दुई वर्षको कुलिङ अफ पिरियड समितिबाट सर्वसम्मत रूपमा पारित भएको पनि बताए ।
तर, प्रतिवेदन लेखनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीको संलग्नता रहेको उल्लेख गर्दै, अन्तिम क्षणमा गहिरिएर नहेर्नु कमजोरी भएको स्वीकार गरे । खतिवडाका अनुसार प्रतिवेदनमा त्रुटि भए पनि त्यो केवल आफू वा समितिका सदस्यहरूको होइन, किनभने संसद्मा पेश हुनु अघि सबैले प्रतिवेदन हेर्ने अवसर पाउने व्यवस्था रहेको छ ।
उनले भने, “मैले गलत गर्न खोजेको होइन । त्रुटि हुन नदिने प्रयासमै लागिरहेको थिएँ । तर, गलत भएको देखिएको छ भने त्यसको जिम्मेवारी म लिन्छु ।” खतिवडाले संसदमा एमालेतर्फबाट कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव पेस भएको पनि स्मरण गरे। आफू गठबन्धनप्रति अडिग रहेको र अन्ततः विधेयक कुलिङ अफ पिरियडसहित पारित हुने विश्वास समेत व्यक्त गरे ।
राजीनामाको घोषणा गर्दै खतिवडाले आफूलाई दोषी होइन, जिम्मेवार ठहर गरिएको भन्दै गुनासो गरे । “राजनीतिमा कहिलेकाहीँ नगरेको गल्ती पनि बेहोरिनुपर्ने हुन्छ। म अहिले त्यही परिस्थितिमा पुगेको महसुस गर्दैछु,” भन्दै उनले भने, “प्रतिवेदनमा ‘जिम्मेवारी’ भन्ने शब्द प्रयोग गरिएको छ, त्यसैले म जिम्मेवारी बोध गर्दै हाँसीहाासी पदबाट राजीनामा दिन्छु ।”
त्यस्तै उनले राजनीतिक रूपमा आफू ‘कूटिल खेलको सिकार’ भएको दाबी गर्दै भने, “कुलिङ अफ पिरियड लागू गर्न चाहने मान्छे नै दोषी देखिनु दु:खको विषय हो ।” खतिवडाले प्रतिवेदनमा आफूमाथि कारबाहीको सिफारिस नभएको पनि प्रस्ट पारे ।
यससँगै, राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व रिक्त भएको छ। खतिवडाको राजीनामाले निजामती सेवा विधेयक र त्यसमा भएको विवादलाई संसदमा नयाँ मोड दिने निश्चित छ ।