© २०२३
बुटवल, २६ साउन ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा “करदाता शिक्षा तथा लेखा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम” बुटवलमा सम्पन्न भएको छ । इक्यानमा आबद्ध शैक्षिक परामर्श व्यवसायीहरूलाई कर शिक्षा, लेखा प्रणाली, व्यवसाय कर, कर छुट, मूल्य अभिवृद्धि कर लगायतका विषयमा विस्तृत जानकारी प्रदान गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सदस्य संस्थाहरू आचारसंहिताभित्र रही सत्य, प्रमाणित र पारदर्शी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । शैक्षिक परामर्श सेवाबाट विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुदा हरेक संस्था उत्तरदायित्वप्रति गम्भीर बन्नुपर्ने उनले आग्रह गरे ।
इक्यान रुपन्देहीका संस्थापक तथा निवर्तमान अध्यक्ष देवबहादुर कुँवरले करसम्बन्धी सचेतना वृद्धि गर्दै सदस्य संस्थाहरूलाई व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । शैक्षिक परामर्श व्यवसाय क्रमशः व्यवस्थित रूपमा विस्तार भइरहेको सन्दर्भमा, लेखा र कर प्रणालीप्रति सजग रहनु अत्यावश्यक रहेको उनले बताए ।
इक्यान केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे र कोषाध्यक्ष आशिक कार्कीले करसम्बन्धी प्रशिक्षणमा सहजिकरण गरेका थिए । करका विभिन्न प्रावधानहरू, करको वर्गीकरण, फर्म दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू, कर तिर्ने समय र प्रक्रिया, छुटका व्यवस्था, दण्ड–जरिवाना लगायतका विषयमा विस्तृत प्रस्तुति दिए ।
कार्यक्रममा एनएमबि बैंक लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख युवराज पाठकले बैंक सधैं इक्यान सदस्यहरूसँग सहकार्य गर्न तत्पर रहेको र बैंकिङ समस्याको समाधानमा सहजता ल्याउने प्रतिबद्धता जनाए । इक्यान रुपन्देहीका सबै सदस्यहरुलाई लक्षित कार्यक्रम प्रभावकारी भएको सचिव गोविन्द बस्नेतले बताए ।