© २०२३
गुल्मी, २६ साउन ।
रेसुङ्गा नगरपालिकाले एक आर्थिक वर्षमा ९२ करोड रुपैयाँभन्दा बढीको विकास खर्च गरेको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी हालसम्मका उपलब्धि र आगामी वर्ष गरिने कार्य योजनाहरूको बारेमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आफ्नो कार्यकालमा नगर भित्र उल्लेखनीय रूपमा स्पष्ट देखिने गरी विकासका उपलब्धिहरू हासिल भएको दाबी गरेका छन् ।
नगरपालिकाले पाँच वर्षको अवधिमा एक सय किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने लक्ष्य लिएकोमा हालसम्म ६५ किलोमिटर सडक कालोपत्रे र ढलान गर्ने काम सम्पन्न भैसकेको जानकारी दिए । उनले आगामी वर्षसम्म बाँकी सडक कालोपत्रे तथा ढलान गर्ने योजना रहेको बताएका छन् ।
नगरले जनताको समस्या बुझ्न, गुनासा सुन्न र तत्काल समस्या समाधानका लागि नगरपालिकाले छिट्टै क्युआर कोड प्रणाली लागू गर्ने तयारी गरेको बताए । उक्त प्रणाली मार्फत नागरिकहरूले आफ्नो प्रतिक्रिया, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा नगरपालिकासम्म पु¥याउन सहज पुग्ने बताइएको छ ।
जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र अर्जुन डाँडामा हावाको माध्यमबाट ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन सुरु गर्ने र त्यसका लागि एक वर्षसम्म त्यस स्थानको निरन्तर हावा मापन गरेर प्राविधिक प्रतिवेदन तयार गर्ने र यदि प्रतिवेदन सकारात्मक आएमा नगरपालिकाको लागत साझेदारीमा उक्त योजना तत्काल अघि बढाउने जानकारी गराएका थिए ।
नगर प्रमुख पन्थीले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयहरूलाई नगरले प्रमुख प्राथमिकतामा राखेर निरन्तर रूपमा काम गर्दै आएको कारण नागरिकमा नगर प्रति विश्वास र भरोसा बढ्दै गएको दाबी गरेका छन् ।
उनले नगरको लक्ष्य केवल पूर्वाधारको विकास मात्र नभई नागरिक सेवामा गुणस्तर र पारदर्शिता स्थापित गर्दै रेसुङ्गालाई आधुनिक, समृद्ध र नागरिकमैत्री सहर बनाउने योजना रहेको बताए ।
पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले आर्थिक वर्ष २०८१/८२ मा रेसुङ्गा नगरपालिकाले चालु तर्फ ९१.४२ प्रतिशत र पुँजीगत तर्फ ८७.४३ प्रतिशत गरी कुल ९०.३४ प्रतिशत बजेट खर्च गरेको जानकारी गराएका थिए ।