© २०२३
काठमाडौं ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा ‘पूर्णबहादुरको सारंगी’ बाट विजय बरालले उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरेका छन्। सफल व्यापारिक कीर्तिमान राखेको उक्त फिल्ममा बरालसँगै प्रकाश सपुत, अन्जना बराइली, बुद्धि तामाङ र मुकुन भुसालले समेत अभिनय गरेका थिए।
फिल्मको निर्देशन सरोज पौडेलले गरेका हुन्। उता, उपासना सिंह ठकुरीले ‘खुस्मा’ फिल्मबाट वर्षको उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारिन्। उक्त फिल्म अशोक थापा मगरको निर्देशनमा बनेको हो।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कलाकारहरूलाई पुरस्कार प्रदान गरेका थिए। चलचित्र विकास बोर्डले प्रत्येक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार नेपाली फिल्म उद्योगमा सम्मानको प्रतीक मानिन्छ।