© २०२३
गुल्मी, ५ असार। दशकौँदेखि खानेपानीको समस्या झेल्दै आएको गुल्मीको एक वस्तीमा लिफटिङमार्फत खानेपानी पुगेपछि स्थानीयहरु हर्षित भएका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर एक र दुईका माथिल्लो वस्तीमा लिफटिङमार्फत खानेपानी पुग्दा स्थानीयहरु हर्षित भएका हुन् ।
लामो समयदेखि खानेपानीकै लागि कुवा पधेँरा धाउँदै आएका स्थानीयहरुले अहिले भने ठोटनेरी खोलाको पानी लिफटिङ गरेर माथि आएको सुन्दा नै हर्षित भएको स्थानीय ७० वर्षीय तुलसादेबी पाण्डेले बताइन् । विहे भएर यहाँ आइसकेपछि हालसम्म कुवा पधेरा धाउँदै गरेको स्मरण गर्दै उमेर घर्किदा भएपनि केही राहत मिलेको उनको भनाइ छ ।
खानेपानीकै समस्याका कारण हिउँदमा गाडीबाट पानी ढुवानी गरेर खान बाध्य भएका स्थानीयहरुले भने उक्त समस्याबाट मुक्ती मिलेको उनले बताइन् । एक घर एक धारा नभए पनि हाललाई चार पाँच घरका एक ठाउँमा जम्मा भएर पानी भर्न पाएकाले स्वर्गमै पुगेको जस्तो भान भएको उनको भनाइ छ । पानी बोकेर ल्याउँदा पिठ्युका हड्डी पनि खिइएको उनले अनुभव सुनाइन् ।
अर्की स्थानीय स्थानीय ७५ वर्षीय तीलादेवी सुनारले झातावास र तोलादीका पानीका मुलहरु धाउँदा धाउँदै जीवन जान्छ की भन्ने लागेकोमा अहिले पानी आउँदा हर्षित भएको बताइन् । पानी आएपछि सुखका दिन आएजस्तो भएको बताउँदै अव शरीरले आनन्द पाउँने उनको विश्वास छ । यहाँका स्थानीयहरुलाई राती सुत्ने बेला र विहानै उठेपछि खानेपानीकै चिन्ता हुने गरेकाले अव अव त्यसको समस्या समाधान भएकोमा यहाँका स्थानीयमा खुसी छाएको छ ।
वर्षायामको समयमा स्थानीय चिदियारको मुलबाट पानी ल्याएर पिउँदै आउने गरेपनि हिउँदको समयमा भने मुल सुकेर समस्या हुने गरेको स्थानीय खिमानन्द न्यौपानेले बताए । केही महिना पहिले हिउँदको समय गाडीबाट पानी ढुवानी गरेर ल्याउँदा एक पटकमा एक हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएकाले पानीलाई घिउँ जस्तै मान्नुपरेको ताजा अनुभव उनले सुनाए । अव भने उक्त समस्या समाधान भएकाले दीर्घकालिन रुपमा यसलाई ब्यबस्थापन गर्न भने चुनौती रहेको उनको भनाइ छ । अव एक घर एक धारा बनाउन र यसलााई नियमित रुपमा सञ्चालनका लागि खर्चिलो हुने भएकाले ब्यबस्थापनका लागि सबैको साथ आवश्यक रहेको उनले बताए ।
खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीका प्रमुख सरोज न्यौपानेले उक्त स्थानमा मुलबाट लिफटिङमार्फत माथि पानी तानीएको बताए । अहिले आंशिक रुपमा त्यहाँको समस्या समाधान भएको बताए । अहिलेलाई त्यही भएपनि त्यस स्थानका लागि बरदान सरह हुने भएकाले आगामी वर्ष एक घर एक धाराका लागि प्रदेसमा बजेट माग गरिएको बताए । यसका लागि राजनीतिक दललगायत सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले प्रदेस सरकार र स्थानीय सरकारको समन्वयमा आगामी वर्ष एक घर एक धाराको कार्य सम्पन्न गर्ने बताएका छन् ।
गाडीबाट पानी ढुवानी गरेर पिउँने बस्ती र लिफटिङमार्फत सिरकोटको ट्याङकीमा पानी संङकलन गर्दै । तस्बिर ः तिलाचन पाण्डे