Butwal Today

विपक्षीको मागपछि संसद् अधिवेशन आह्वानको तयारी कहाँ पुग्यो ?

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

गत कात्तिक १६ गते विपक्षी दलहरूले न्यायालयको निष्पक्षता, प्रहरी तथा सुरक्षा निकायको कार्यशैली र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले राज्यका महत्त्वपूर्ण निकायको कामकारबाहीमाथि उठेका प्रश्न संसद्मा छलफल गरेर टुङ्ग्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

उक्त निर्णयबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कात्तिक १७ गते सभामुख डोलप्रसाद अर्याललाई भेटेर जानकारी गराएका थिए । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आङदेम्बेले विपक्षी दलहरूको तर्फबाट संसद् बैठक आह्वान गर्न सभामुखसमक्ष आग्रह गरेका थिए ।

सभामुख अर्यालले त्यसका लागि आवश्यक पहलकदमी गरिरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

‘विपक्षी दलहरूको तर्फबाट प्रमुख प्रतिपक्षी दलका नेताज्यूले सम्माननीय सभामुखज्यूलाई अधिवेशन आह्वानका लागि ध्यानाकर्षण गराउनुभएको थियो,’ गिरीले भने, ‘मागबमोजिम सम्माननीय सभामुखज्यूबाट आवश्यक पहलकदमी लिने काम भएको छ । बैठक आह्वान भइसकेको अवस्था छैन ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भने विपक्षीहरूको मागअनुसार अहिलेसम्म विशेष वा नियमित अधिवेशन आह्वान नभएको बताइन् । यस विषयमा थप छलफलसमेत नभएको उनको भनाइ छ ।

‘अहिलेसम्म हाम्रो मागबमोजिम अधिवेशन आह्वान भएको छैन । त्यसबारे थप छलफल पनि भएको छैन,’ थापाले भनिन्, ‘हामी आगामी आइतबारसम्म प्रतीक्षा गर्छौँ । त्यसबेलासम्म पनि अधिवेशन आह्वान भएन भने थप ध्यानाकर्षण गराउँछौँ ।’

थापाले सरकारले ल्याएका अध्यादेशहरू मङ्सिर ११ देखि १५ गतेसम्म अधिवेशन आह्वान नभए निष्क्रिय हुने सम्भावना रहेको पनि बताइन् ।

विपक्षी दलहरूले राष्ट्रिय हित, जनजीविका, लोकतन्त्र, संविधान, विपद्पछिको राहत तथा पुनर्निर्माणलगायतका विषयमा संसद्मा गम्भीर छलफल आवश्यक रहेको भन्दै तत्काल अधिवेशन बोलाउन सरकारसँग माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?