Butwal Today

सरकारलाई आगामी नयाँ वर्षसम्म टिक्न दिनु हुँदैन : महेश बस्नेत

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गर्दै आगामी नयाँ वर्षसम्म पनि सरकारलाई टिक्न दिन नहुने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । त्यसका लागि एमालेले आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग सहकार्य गर्ने उनको भनाइ छ ।

‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, युवाहरूले खरानी ग्याङको उपमा दिएको, सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न पार्टी र त्यसका नेताहरू सहभागी रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन,’ उनले भने ।

बस्नेतले सरकारविरुद्धको आन्दोलन प्रभावकारी बनाउन पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउनुपर्ने बताए । साथै, सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम नागरिकमाझ पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए ।

उनले आन्दोलनलाई व्यवस्थित गर्दै पार्टी संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिनुपर्ने पनि बताए ।

‘नेकपा एमाले अन्य सबै दलसँग आवश्यकताअनुसार सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित बनाउने, आफ्नो संगठनात्मक संरचनालाई सुदृढ गर्ने, स्थानीय कमिटीहरूलाई मजबुत बनाउने तथा स्थानीय तह र प्रदेश तहका निर्वाचनको तयारी गर्दै अगाडि बढ्नेछ,’ बस्नेतले भने ।

उनले आगामी स्थानीय तह तथा प्रदेश तहका निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै संगठन निर्माण र चुनावी तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?