© 2026
काठमान्डौँ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री यादवले पदभन्दा ठूलो जनताको सेवा र विश्वास रहेको भन्दै पदबाट राजीनामा दिएको बताएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।
सत्ता साझेदार दल नेकपा (एमाले) ले गत असोज ३० गते आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो ।
त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो । दुई प्रमुख सत्ता साझेदार दल बाहिरिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको थियो। यद्यपि संवैधानिक व्यवस्थाअनुसार प्राप्त समयसीमाका कारण उनले तत्काल राजीनामा दिएका थिएनन् ।
हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री यादवलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो ।
प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
गत कात्तिक २० गते जसपा नेपाल, एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेको एमालेले दाबी गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने तयारीस्वरूप सोही दिन नेकपा पनि सरकारबाट बाहिरिएको थियो ।
तर, जसपा नेपालभित्रै मुख्यमन्त्री बन्ने विषयमा आन्तरिक विवाद देखिएपछि नयाँ सत्ता समीकरणले मूर्तरूप लिन सकेको छैन । एमाले र नेकपा भने जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका छन् ।
यता जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले अब गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने घोषणा गरिसकेका छन् । यसले मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थप अन्योलपूर्ण बनेको छ ।
मुख्यमन्त्री यादवको राजीनामासँगै अब प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नेछन् ।