© 2026
अर्घाखाँची । अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको अर्घा दरबार र अर्घा भगवती मन्दिरको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दशैँ मेला सुरु भएको छ। सन्धिखर्क नगरपालिका–९ को आयोजनामा सुरु भएको मेलाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो। मेला आजदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।
ऐतिहासिक अर्घा राज्यको पहिचान, अर्घा भगवती मन्दिरको धार्मिक महत्त्व र यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित मेला आयोजना गरिएको वडा अध्यक्ष पदम भुसालले बताए । चौबीसी राज्यअन्तर्गत रहेको अर्घा राज्य र खाँची राज्यकै नामबाट अर्घाखाँची जिल्लाको नामकरण भएको ऐतिहासिक मान्यता छ। प्राकृतिक मनोरम वातावरण, धार्मिक आस्था र ऐतिहासिक सम्पदाले भरिपूर्ण अर्घालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
मेलाको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले अर्घाको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई उजागर गरी पर्यटनसँग जोड्न मेला आयोजना गरिएको बताए । सुपा देउराली र लुम्बिनी आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घासम्म पुर्याउन सके यस क्षेत्रको पर्यटन व्यवसायले गति लिने उनको भनाइ छ। ‘अर्घाको पर्यटन विकासले सन्धिखर्कको आर्थिक गतिविधि बढाउन सक्छ’नगरप्रमुख श्रेष्ठले अर्घा भगवती मन्दिरलगायत यहाँका ऐतिहासिक तथा धार्मिक सम्पदाको प्रभावकारी प्रचारप्रसार गर्न सके पर्यटकको आकर्षण बढ्ने बताए । अर्घामा पर्यटक भित्र्याउन सके सन्धिखर्क बजारको आर्थिक कारोबारसमेत बढाउन सकिने बताए ।
सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमलप्रसाद भुसालले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको अर्घाको विकासले सन्धिखर्कसँगै समग्र अर्घाखाँचीको विकासमा योगदान पुर्याउने बताए । अर्घालाई धार्मिक पर्यटनसँग जोडेर स्थानीय युवालाई स्वरोजगार बनाउने र आर्थिक समृद्धिको आधार तयार गर्ने दिशामा काम गर्न आवश्यक रहेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ज्ञवालीले स्थानीय उत्पादन, मौलिक झाँकी र परम्परागत भेषभूषाको संरक्षण तथा प्रचारप्रसारमा ध्यान दिन सके मेलाले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् । स्थानीय कला, संस्कृति र उत्पादनलाई प्राथमिकता दिँदा अर्घाको छुट्टै पहिचान स्थापित गर्न सकिने उहाँले धारणा राखे ।
सन्धिखर्क नगरपालिका–९ का वडाध्यक्ष पदम भुसालका अनुसार मेलामा राष्ट्रिय तथा स्थानीयस्तरका ख्यातिप्राप्त कलाकारको सांगीतिक प्रस्तुति रहनेछ। बाल उद्यान, स्थानीय परिकार र स्थानीय उत्पादनका स्टलसमेत मेलाका आकर्षणका रूपमा रहनेछन्। ऐतिहासिक विवरणअनुसार अर्घा राज्य नेपाल एकीकरणका क्रममा पाल्पा राज्यसँगै विशाल नेपालमा समाहित भएको थियो। अर्घाका अन्तिम राजा वीरकुमार शाह रहेको इतिहासमा उल्लेख पाइन्छ। अर्घा दरबार र अर्घा भगवती मन्दिर यस क्षेत्रका प्रमुख ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा परिचित रहेको अर्घा मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए ।
धार्मिक आस्था, ऐतिहासिक विरासत र प्राकृतिक सौन्दर्यको संगम रहेको अर्घालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना, व्यापार व्यवसाय विस्तार र जिल्लाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। दशैँ मेलाले अर्घाको पहिचान विस्तार गर्नुका साथै जिल्लामा आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँची शाखाका अध्यक्ष बलबहादुर रायमाझीले बताएका छन् ।