Butwal Today

दसैँ, तिहार र छठमा विद्युत् अवरुद्ध हुँदैन : भैरहवा वितरण केन्द्र

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

सिद्धार्थनगर । 

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै विद्युत् आपूर्ति नियमित, व्यवस्थित र भरपर्दो बनाउन आवश्यक पूर्व तयारी पूरा गरेको जनाएको छ ।

वितरण केन्द्रका कार्यालय प्रमुख सुरज रेग्मीले ग्राहक वर्गमा चाडपर्वको समयमा विद्युत् सेवामा समस्या आउन नदिन प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको जानकारी दिए ।

उनका अनुसार बर्खायाममा बढेका रुख तथा हाँगाहरूका कारण विद्युत् लाइनमा हुन सक्ने अवरोध न्यूनीकरण गर्न रुख तथा हाँगा काट्ने अभियानलाई तीव्र पारिएको छ । यसबाट चाडपर्वका समयमा विद्युत् लाइनको गुणस्तर कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, सार्वजनिक बिदाका दिनमा समेत विद्युतसम्बन्धी समस्या तत्काल समाधान गर्न कर्मचारी व्यवस्थापन गरिएको बताए । सम्भावित प्राविधिक समस्या तथा आकस्मिक अवस्थालाई सम्बोधन गर्न ‘चाडपर्व लक्षित समूह’ बनाएर कर्मचारी खटनपटनको व्यवस्था मिलाइएको रेग्मीले बताए ।

चाडपर्वका समयमा विद्युतको माग बढ्न सक्ने भएकाले ट्रान्सफर्मर तथा अन्य उपकरणको क्षमता वृद्धि, मर्मत सम्भार र सुरक्षाका कामसमेत गरिएको वितरण केन्द्रले जनाएको छ । अत्यधिक लोडका कारण प्रणालीमा समस्या नआओस् भन्ने उद्देश्यले आवश्यक तयारी गरिएको हो ।

कार्यालय प्रमुख रेग्मीले आगामी चाडपर्वमा विद्युत् आपूर्तिमा ठुलो समस्या आउन नदिने गरी व्यवस्थापन मिलाइएको बताउँदै समस्या आइहाले पनि यथाशीघ्र प्रणालीलाई सामान्य अवस्थामा फर्काउने गरी प्राविधिक टोली तयारी अवस्थामा राखिएको जानकारी दिए ।

वितरण केन्द्रले प्रणालीको मुख्य सब–स्टेसनमा भोल्टेजको समस्या नरहे पनि ट्रान्सफर्मरबाट भौगोलिक रूपमा टाढा रहेका ग्राहकका घरसम्म विद्युत् पुग्दा लो–भोल्टेज हुने समस्या देखिएको स्वीकार गरेको छ ।

वितरण केन्द्रले विद्युतसम्बन्धी कुनै पनि गुनासो वा आकस्मिक समस्या आएमा सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाको पछि नलागी सिधै वितरण केन्द्रको कार्यालय वा सम्बन्धित प्राविधिक टोलीलाई सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?