Butwal Today

अनुगमन कडा भएपछि व्यवसायी सचेत

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

चन्द्रौटा ।

नियमित बजार अनुगमनले कपिलवस्तुका बजारमा सुधार देखिन थालेको छ । व्यवसायीलाई गरिएको सचेतनाले बजारमा सुधार देखिन थालेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । विगतमा अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा उपभोग्य सामग्री फेला पर्ने गरे पनि यस वर्ष त्यस्ता सामग्री नभेटिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जनाए ।

विगतमा म्याद नाघेका सामग्री फेला पर्ने गरेकामा यस वर्ष त्यस्तो समस्या नदेखिनु सकारात्मक पक्ष भएको उनले बताए । नियमित अनुगमनले व्यवसायीलाई जिम्मेवार बनाउँदै लगेको घिमिरेले बताए । उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणमा व्यवसायी सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

सहायक प्रमुख घिमिरेका अनुसार म्याद नाघेका सामग्री नभेटिए पनि केही होटल तथा चमेना गृहमा सरसफाइको अवस्था भने कमजोर पाइएको छ । खाना पकाउने ठाउँ, खाद्य सामग्री भण्डारण, भाँडाकुँडाको सफाइ तथा खानेकुरा राख्ने तरिकामा सुधार गर्नुपर्ने देखिएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन दिइएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख अष्टराज गौतमले बजार अनुगमनले कारबाहीमा सीमित नभई व्यवसायीलाई उपभोक्ता अधिकारप्रति सचेत गराउनु र बजारलाई व्यवस्थित बनाउनु पनि रहेको बताए । नियमित अनुगमन तथा सचेतनामूलक कार्यक्रमले बजारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको उनले बताए ।

खाद्य स्वच्छता, सरसफाइ, सुरक्षित भण्डारण र बिक्री गरिने सामग्रीको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह गरिएको छ । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ । जिल्लाको कपिलवस्तु र बुद्धभूमि नगरपालिकाका विभिन्न बजारमा होटल, चमेना गृह, किराना तथा खाद्यान्न पसलसहित १५० बढी व्यवसायको अनुगमन गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका राजेन्द्र सिंह लोधलगायतको संयुक्त अनुगमन टोलीले अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?