Butwal Today

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणना आजै सकिनेः संयोजक खड्का

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

ललितपुर ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा जारी मतगणनाको काम आजै राति सकिनेगरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।

समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मत गणना भइरहेको अवस्थामा आवश्यक परे गणनास्थल थप गरी आज राति १०ः०० बजेसम्ममा सबै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

परिणाम सार्वजनिक हुनेक्रममा कांग्रेस दलिततर्फको सहमहामन्त्री पदमा चार हजार ८०३ मत प्राप्त गरी प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सो पदका प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२० मत र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गरेका छन् ।

यसैगरी, दलित महिलातर्फको पाँच सदस्य पदमा शान्ति परियार ९विक०ले दुई हजार ९६४ र सीता मिजारले तीन हजार ४३३, रुपा विकले दुई हजार ६४९, कमला नेपालीले दुई हजार ५५३ र छायाँ सुनुवारले दुई हजार ११२ मत प्राप्त गरी विजयी भएका छन् ।

दलित मधेसीतर्फ धर्मेन्द्र पासवान तीन हजार १०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उक्त समूहमा चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६, मानवीर रजक साफीले ३११ र राजकुमार पासवानले एक हजार २३३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

अहिले मधेस प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य, मधेस प्रदेश केन्द्रीय सदस्य महिला, खुला, ३५ वर्षमुनिका युवा महिला तथा पुरुष र खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते भएको मतदानबाट सभापति, उपसभापति, महामन्त्रीसहितक प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री खसआर्य र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भई परिणाम सार्वजनिक भइरहेको छ ।

जारी मतगणनाअन्तर्गत खुलातर्फको ४५ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?