Butwal Today

चाडपर्वमा हुने चोरी र ठगीबाट बच्न सल्यानमा एकीकृत सुरक्षा योजना लागू

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

सल्यान ।

चाडपर्वको समयमा हुन सक्ने चोरी, अनलाइन ठगी, जुवातास र सवारी दुर्घटनालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले चाडपर्व विशेष एकीकृत सुरक्षा योजना–२०८३ कार्यान्वयनमा ल्याएको छ । दसैँ, तिहार र छठ पर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिबाट पारित योजनालाई कार्यान्वयनमा ल्याइएको प्रशासनले जनाएको छ ।

प्रशासनले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । चाडपर्वका समयमा घरपरिवारसँगको भेटघाट, किनमेल, धार्मिक तथा सांस्कृतिक गतिविधि र आवतजावत बढ्ने भएकाले व्यक्तिगत सुरक्षा, सम्पत्तिको संरक्षण र सामाजिक सद्भावमा विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको हो ।

प्रशासनले चाडपर्वका बेला घर तथा पसल बन्द गरेर बाहिर जाँदा ढोका, झ्याल र ताल्चा राम्रोसँग बन्द गर्न तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ । चाडपर्वको मौका छोपेर हुन सक्ने चोरी तथा अन्य आपराधिक गतिविधिबाट बच्न सतर्कता अपनाउन पनि सूचनामार्फत ध्यानाकर्षण गराइएको छ ।

पछिल्लो समय बढ्न सक्ने विद्युतीय ठगीका घटनालाई मध्यनजर गर्दै प्रशासनले अनलाइन कारोबारमा समेत सावधानी अपनाउन आग्रह गरेको छ । अपरिचित व्यक्तिलाई पैसा नपठाउन, ओटीपी तथा पासवर्ड गोप्य राख्न र अनलाइन ठगीमा परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी गर्न प्रशासनले अनुरोध गरेको छ ।

त्यसैगरी, चाडपर्वका नाममा जुवातास, सट्टेबाजी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन सचेत गराइएको छ । पटका, आतसबाजी तथा अन्य विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नगर्न आग्रह गर्दै प्रशासनले यस्ता गतिविधिले मानवीय क्षति तथा आगलागीजस्ता जोखिम निम्त्याउन सक्ने जनाएको छ ।

सडक सुरक्षालाई ध्यानमा राख्दै मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ । चाडपर्वमा मेला, बजार तथा मन्दिरमा हुने भीडभाडका क्रममा बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न तथा बहुमूल्य सामान सुरक्षित राख्न आग्रह गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा ध्वनि प्रदूषण हुने गरी स्पिकर नबजाउन, अश्लील गतिविधि नगर्न र अरूलाई असर पर्ने व्यवहारबाट टाढा रहन सूचनामा उल्लेख छ । देउसीभैलो कार्यक्रमलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन तथा पटाका र आतसबाजीबाट हुन सक्ने जोखिमप्रति सचेत रहन पनि प्रशासनले आग्रह गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालमा भ्रामक सूचना तथा अफवाह फैलाउने र धार्मिक वा साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रशासनले सचेत गराएको छ । छठ पर्वका क्रममा नदी, पोखरी तथा अन्य जलाशयमा स्नान र पूजाआजा गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन तथा बालबालिकालाई एक्लै नछाड्न पनि अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरिएका विषयबाहेक अन्य अवाञ्छित तथा गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ । कुनै शंकास्पद गतिविधि, झैझगडा, दुर्घटना वा आपराधिक घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?