Butwal Today

दसैं हराएको अमरपथ बजार

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बुटवल ।

गएको बर्षसम्म बुटवलको अमरपथ बजारमा सामान किनमेल गर्न आउने ग्राहकको ठूलो भीडले व्यापारीलाई बोल्नेसम्म फुर्सद हुन्थेन । दसैंमा स्वदेश तथा विदेशबाट आएका ग्राहकको पहिलो रोजाई बुटवल अमरपथको बजार हुन्थ्यो ।

दसैंमा अमरपथ बजार आएर कपडा, जुत्ता, व्याग तथा इलेक्ट्रोनिक्स लगायतका सामान खरिद नगरे उपभोक्ता समेत दसैं नआएको खल्लो महसुस गर्दथे । तर, अहिले समय फेरिएको छ । अमरपथको ब्यापार सुक्दै गएको छ । बुटवलको सवैभन्दा पुरानो बजार मानिएको अमरपथका व्यापारीलाई दसैं आएको अनुभूति नै भएको छैन ।
बुटवलको अमरपथ बजारमा यो वर्ष चहलपहल आउन नसक्दा व्यापारीहरु चिन्तित बनेका छन् ।

दसैंको बेला चिया पिउन समेत फुर्सद नपाउने यहाँका व्यापारीहरु अहिले ग्राहकको प्रतीक्षा गर्दै समय विताउनपनि मुस्किल परेको गुनासो गर्छन ।
दसैं आएको भन्दै सामान सजाएर अनि ग्राहकका लागि विभिन्न अफर सार्वजनिक गरेका व्यवसायीको अनुहारमा यस पटकको दसैंले उत्साह भन्दा निराश बनाएको छ ।अधिकाशं उपभोक्ता बेलहिया नाका हुदै भारतको सुनौली बजार पुग्ने भएकाले पनि यस क्षेत्रका बजारमा मन्दी छाएको छ ।
अमरपथस्थित पञ्चकन्या फेसन कपडा पसलका सञ्चालक कृष्णप्रसाद गुप्ता २० वर्षदेखि यही ठाउँमा बसेर व्यापार गर्दै आएका छन् । उनको पारिवारिक व्यवसायले ५१ वर्ष पूरा गरिसकेको छ । बुबा र हजुरबुबाले समेत यही पेसा अँगालेको बताउने गुप्ता यस वर्षको व्यापार देखेर अचम्मित छन् ।

उनी भन्छन– “म यही ठाउँमा २० वर्षदेखि पसल गरिरहेको छु तर यस्तो सुनसानको अवस्था कहिल्यै आएको थिएन ।” गुप्ता भन्छन्–“हाम्रो त पुख्र्यौली पेसा हो । बाबा र हजुरबुवाले पनि यही व्यापार गर्नुभयो । तर, मैले थाहा पाएदेखि अमरपथमा यो बर्षको दसैं जस्तो सुनसान यसअघि कहिल्यै भएको थिएन ।

गुप्ताको जस्तै अनुभव छ अमरपथकै लभली ब्याग हाउसका सञ्चालक सागर श्रेष्ठको पनि । ३५ वर्षदेखि यही ठाउँमा व्यापार गर्दै आएका श्रेष्ठले यस वर्षको दसैंमा कारोबार निकै घटेको सुनाए ।

उनका अनुसार यो बर्ष विवाहका लगन कम पर्नु, देशमा भएको विपत्ति र खर्च गर्न सक्ने उमेरका युवाहरू विदेसिनुले पनि बजारको चहलपहलमा असर पारेको हुन सक्छ ।

श्रेष्ठको गुनासो छ– “मैले यही ठाउँमा व्यापार गर्न थालेको ३५ वर्ष पुगेछ तर अमरपथ बजारलाई सम्झिँदा यस वर्ष व्यापार निकै घटेको छ, ग्राहक आउनै छोडे ।

गुप्ता र श्रेष्ठ मात्रै होइन, हिमानी इलेक्ट्रोनिक्सका सञ्चालक सुमन श्रेष्ठ पनि यो बर्ष दसैंमा व्यापार नभएको मानिरास छन् । इलेक्ट्रोनिक सामानमा विशेष अफर राख्दापनि सोचेजस्तो कारोबार नभएको उनको भनाइ छ ।
किन व्यापार भएन ? उनको बुझाई छ– मानिससँग खर्च गर्ने पैसा छैन, बैंकबाट ऋण लिन झन्झटिलो छ । त्यसैले पनि व्यापार व्यवसाय प्रभावित भएको छ ।

श्रेष्ठको विचारमा व्यापार नचल्नुको अर्को कारण बैंकमा पैसा थुप्रिनु पनि हो । ऋण लिन पाउने व्यवस्था पनि झन्झटिलो छ । मानिससँग पैसा छैन ।

यही चाडपर्वको बेला व्यवसायीेहरुले किनमेल बढ्ने आशामा नयाँ सामान भित्राउनेदेखि छुट र अफरसम्मको आकर्षक स्किम राखेका छन । तर, ती स्किममा ग्राहकको आँखा जान सकेको छैन ।

अमरपथका अर्का व्यवसायी राजेन्द्र पन्थी अमरपथको व्यापार घटनुको एक मूख्य कारण सामाजिक सञ्जाललाई पनि मान्छन । उनका अनुसार अहिले गाउँघर, सहरबजार सवैतिर फेसबुक, इन्स्टाग्राम र टिकटकबाट सामान बेच्ने व्यापारीको पकड बलियो वन्दै गएको छ । जसको असर अमरपथ बजारमा परेको छ ।

कुनै बेला अमरपथका व्यवसायीले दसैंको बेला दैनिक लाखौंको कारोबार गर्थे तर अहिले ग्राहक आउने प्रतिक्षामा दिन काट्नु परेको भन्दै यस्तै हो भने अव भाडा तिर्न समेत गाह्रो हुने दुखेसो पोख्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?