© 2026
पाल्पा ।
रिब्दीकोट गाउँपालिका मैनादीकी रुपा कुँवर सुन्तलाको बोटमा रोग तथा किरा लाग्ने वित्तिकै नियन्त्रणका लागि कडा विषादीको प्रयोग गर्न नहुने अभियानमा लागेकी छन् । एक वर्ष अगाडिसम्म सुन्तलामा रोग देखा पर्दा विषादीको प्रयोग गर्ने किसानमध्ये उनी पनि एक हुन् ।
सुन्तलामा सिल्ला नामको किराले फल नोक्सान गर्दै आएको छ । तर पनि, बगैँचाको व्यवस्थापन बिना विषादीको प्रयोग गर्न नहुने कुरामा कृषक पछिल्लो समयमा निकै सचेत भएको मैनादीका कृषक बेनबहादुर पुन बताउँछन् ।
वगनासकाली गाउँपालिका वराङदीकी अगुवा कृषक नमकला घिमिरे भन्छिन्– तरकारी तथा खाद्यान्न बालीमा किरा देखिनासाथ नियन्त्रणका लागि विषादीको प्रयोग गर्न नहुँदो रहेछ । विषादीको प्रयोग गर्नुभन्दा पहिला किराको पहिचान गरी किराको नियन्त्रण गर्न सकिने विधि र पद्धतिको बारेमा तालिम लिएपछि गाउँका कृषक विषादीको प्रयोगलाई न्यूनीकरण गरौँ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विषादीको प्रयोग बिना स्वस्थ्य वाली उत्पादनका लागि कृषकको बारी तथा बगैँचामा पुगेर एकीकृत शत्रु जीव व्यवस्थापन तालिम तथा कृषक पाठशाला सञ्चालन गरेपछि कृषकहरूमा सचेतना भएको उनीहरू बताउँछन् ।
मैनादीका कृषक रामजी प्रसाद नेपाल तालिम तथा कृषक पाठशाला सञ्चालन हुनुभन्दा पहिले बोट तथा फलमा किरा देखियो कि विषादीको प्रयोग गरी हाल्ने बानी थियो । बोट तथा फलमा देखिने सबै किरा शत्रु मात्र नहुँदो रहेछ भन्छन् ।
उनका अनुसार किरा भन्नासाथ सबै बालीलाई नोक्सान गरी हाल्ने हुन भन्ने थियो तर यो मानसिकता गलत रहेछ । उनी भन्छन्– पहिला त बगैँचाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा ज्ञान नै थिएन । अनि सुन्तला जातको बगैँचा नजिक कामीनी फूल लगाउन हुुँदो रहेनछ ।यो फुलमा सुन्तलालाई नोक्सान गर्ने सिट सिल्ला किराको मुख्य श्रोत हुँदो रहेछ भन्ने जानकारी भयो ।
विषादीको प्रयोग बढेको समयमा अन्तर्राष्ट्रिय सहयोग निकाय विश्व खाद्य सङ्गठनको आर्थिक सहयोग र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा २०५४ सालदेखि सञ्चालित कृषक पाठशाला सङ्घीय संरचनाको निर्माण भएसँगै दातृ निकायले सहयोगको हात झिकेपछि कृषकलाई समस्या परेको थियो ।
केही समय बन्द भएको पाठशाला गत वर्ष परियोजनाले सुन्तला, अदुवा र तरकारीमा तिन वटा पाठशाला सञ्चालन गरेकोले अहिले कृषकलाई सहज भएको पाठशालाका सहजकर्ता तथा परियोजनाको कृषि प्राविधिक सविना थापा बताउँछिन् ।
तानसेन तिन्टीआपकी कृषक सविना न्यौपाने कृषक पाठशालाका कारण किराको पहिचानसँगै स्वस्थ्य गुणस्तर बिउको प्रयोग, वाली लगाउने तरिका, मलको प्रयोग कति र कसरी भन्ने विषयमा कृषकलाई दक्ष बनाउने तालिम पाएपछि सहज भएको बताउँछिन् ।
आफूले लगाएको बोट बिरुवाको अनुगमनदेखि बारीको सरसफाइसम्मका विषयमा राम्रोसँग ज्ञान हासिल गरेको उनी बताउँछिन् । कृषक पाठशालामार्फत ज्ञान हासिल गरिसकेका पुराना पुस्ता मध्ये केही अस्ताए । अधिकांशले खेती गर्न छाडे । अहिलेको पुस्ता तालिमविहीन छन् । कृषक पाठशालालाई सरकारले प्राथमिकतामा नराख्दा कृषकले प्राविधिकको सल्लाह बिना विषादीको प्रयोग गर्ने बानी बसेको छ ।
अगुवा कृषक तथा कृषक पाठशालाका प्रशिक्षक इन्द्र पौडेल गत वर्ष यो कार्यक्रम रहे पनि यो वर्ष भने नभएको बताउँछन् । कृषकलाई सिकाउने कुरामा त स्थानीय सरकारले पनि सञ्चालन गर्न सक्ने क्षमता भए पनि स्थानीय सरकारले ध्यान नदिँदा राम्रो कार्यक्रम हराउन पुगेको उनी बताउँछन् ।