© 2026
चन्द्रौटा ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ सदस्यलाई रोटरीको उद्देश्य, मूल्यमान्यता र सामाजिक सेवाप्रतिको जिम्मेवारीबारे जानकारी गराउनका लागि अभिमुखीकरण गरेको हो । अभिमुखिकरण शनिबार बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन सेकेन्डरी स्कुलमा गरिएको जनाईएको छ ।
नवप्रवेशी सदस्यलाई रोटरीको इतिहास, उद्देश्य, मूल्यमान्यता, संस्थागत संरचना, नेतृत्व विकास तथा सामाजिक सेवामा सदस्यहरूको भूमिका र जिम्मेवारी बोध गराइएको छ । क्लबका अध्यक्ष वासुदेव घिमिरेले समाजको आवश्यकता पहिचान गरी आगामी दिनमा पनि विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए । क्लबका योजना सफल बनाउन सबै रोटरियन, पदाधिकारी तथा सदस्यबीच सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको उनले उल्लेख गरे ।
‘आफूभन्दा माथि सेवा’ भन्ने मूल आदर्शलाई आत्मसात् गर्दै क्लबले मानवीय सेवा, सामाजिक विकास र समुदायमा सकारात्मक परिवर्तन ल्याउने गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता गरे । सो अवसरमा क्लबले हालसम्म सञ्चालन गरेका सामाजिक तथा सेवामूलक गतिविधिबारेसमेत चर्चा गरिएको थियो । वृक्षरोपण, भोटेकोशी बाढी प्रभावित नागरिकलाई सहयोग, चालक तथा सहचालकका लागि सचेतना कार्यक्रम र शान्ति दीप प्रज्वलनलगायतका गतिविधिबारे उल्लेख गरिएको थियो । डिस्ट्रिक्ट भोकेसनल ट्रेनिङ चेयर रोटरियन वासुदेव घिमिरे, जोन ३३ का असिस्टेन्ट गभर्नर रोटरियन मोहनप्रसाद बेल्बासे, रोटरियन नरेश पौडेल र रोटरियन हेमन्त थापालगायतले सम्बोधन गरेका थिए ।