© 2026
नवलपरासी ।
नेपाली काँग्रेसका नेता विनोद चौधरीले पार्टीमा नयाँ जिम्मेवारी युवालाई हस्तान्तरण गर्दै गर्दा उनीहरूलाई काँग्रेसको विचार, दृष्टिकोण र स्पष्ट रोडम्यापसहित अघि बढाउन आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएका छन् ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार चौधरीले युवाको नेतृत्व विकास र उनीहरूको भविष्य निर्माणलाई आफूले प्राथमिकतामा राखेको बताएका हुन ।
“युवा नै आजको आवश्यकता हो । नयाँ जिम्मेवारी युवालाई सुम्पिरहँदा उनीहरूलाई काँग्रेसको भिजनसहितको रोडम्यापमा डोर्याउन आवश्यक छ,” चौधरीले भने, “त्यही भूमिकालाई प्रभावकारी बनाउन मैले उपसभापतिमा उम्मेदवारी दिएको हुँ ।”
उनले काँग्रेसमा आबद्ध लाखौँ युवालाई राजनीतिक चेतनासँगै उद्यमशीलता र रोजगारीको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै युवालाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने दिशामा पार्टीले ठोस योजना बनाउनुपर्ने उनको भनाइ छ । आफू राजनीतिमा होस या अन्य जुन क्षेत्र वा जुनै भूमिकामा रहे पनी सधैँ युवा पुस्ताको आवाजलाई स्विकार्दै अघि बढेको समेत चौधरीले बताए ।
“राजनीतिक चेतनासँगै पार्टीमा आबद्ध लाखौँ युवालाई उद्यमशीलता र रोजगारीको मार्ग देखाउन चाहन्छु,” चौधरीले भने, “युवाको अभिभावक बनेर उनीहरूलाई सही दिशामा डोर्याउने मेरो प्राथमिकता हो ।”
चौधरीले युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई पार्टी सङ्गठनसँग जोड्दै नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिए ।