Butwal Today

चन्द्रकोटमा दुर्गम बस्ती लक्षित निःशुल्क स्वास्थ्य शिविर, घरदैलोमै स्वास्थ्य सेवा

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

गुल्मी । चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नियमित बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको निःशुल्क सूक्ष्म स्वास्थ्य शिविर अभियानअन्तर्गत वडा नम्बर ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। असोज २१ गते कालिका गाउँमा सञ्चालन भएको शिविरमा शान्तिपुर आँखा उपचार केन्द्रमार्फत आँखा परीक्षण, नागरिक आरोग्य केन्द्र शान्तिपुरमार्फत आयुर्वेदसम्बन्धी परामर्श तथा सामी कार्यक्रमका सहजकर्तामार्फत मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आँखा उपचार सेवा र ८० जना नागरिकले स्वास्थ्य परामर्श सेवा लिएका छन्।

गाउँपालिकाले स्वास्थ्य संस्थाबाट टाढा रहेका, दुर्गम तथा विकट क्षेत्रका साथै आदिवासी जनजाति र विपन्न नागरिकको बसोबास रहेका बस्ती छनोट गरी स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले अभियानका रूपमा शिविर सञ्चालन गर्दै आएको छ। यसअघि असोज १५ गते वडा नम्बर ३ को गैडुङ, असोज १६ गते वडा नम्बर ४ को डाँडाबन, असोज १९ गते वडा नम्बर ५ को मगरगाउँ र असोज २० गते वडा नम्बर ७ को बाँसदीमा स्वास्थ्य शिविर सम्पन्न भएका थिए। स्वास्थ्य संस्थासम्म पुग्न चेतनाको अभाव, भौगोलिक दूरी तथा सहज पहुँचको कमीका कारण रोग लुकाएर घरमै बस्न बाध्य वृद्धवृद्धा, आर्थिक रूपमा विपन्न तथा अशक्त नागरिकलाई शिविरबाट ठूलो लाभ पुगेको स्थानीयले बताएका छन्।

चन्द्रकोट आधारभूत अस्पतालका एमबीबीएस चिकित्सक डा. रोशनकुमार यादव, डा. अरुण गैरे, स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्मा तथा अन्य स्वास्थ्यकर्मीको उपस्थितिमा शिविर सञ्चालन भइरहेको छ। गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्यकर्मीलाई गाउँमै पुर्‍याएर सेवा उपलब्ध गराउँदा नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको स्थानीय केशवराज सापकोटाले बताए। चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसर डा। अरुण गैरेका अनुसार शिविरमा सुगर, प्रेसर तथा मनोसामाजिक समस्यालगायत नसर्ने रोगका बिरामीको संख्या बढी देखिएको छ। भाइरलजन्य रोगका बिरामी भने तुलनात्मक रूपमा कम भेटिएको उनले बताए।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले गाउँपालिकाले प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई आम नागरिकको घरदैलो नजिक पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। उनका अनुसार स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न नसकेका नागरिकलाई यस्ता अभियानले प्रत्यक्ष लाभ पुर्‍याइरहेको छ। स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माका अनुसार अभियानअन्तर्गत असोज २२ गते विशुखर्कको धौलादीप, असोज २३ गते दिव्रुङ दह र असोज २४ गते हरेवाको खादिकोटमा सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?