काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाउनुभएका प्रश्नको आज सदनमा जवाफ दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने बताएका हुन् । उनले सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा गलत तथा भ्रामक सूचना प्रसारण हुने प्रवृत्तिलाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक, प्रेस काउन्सिललगायत विधेयक तर्जुमाको तयारी भइरहेको बताए । ती विधेयक छिट्टै सदनमा प्रस्तुत गरिने उनले दिानकारी दिए ।
“आमसञ्चार माध्यमहरूमा गलत, भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानुनी प्रावधानहरू विधेयकमा समायोजन गरिएको छ । सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानुनी व्यवस्था गर्ने मन्त्रालयले तयारी गरिरहेको छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने । अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानुनी एवं नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।
उनले प्रेस काउन्सिल नेपाललाई थप अधिकार र जिम्मेवारीसहित बलियो बनाउने उद्देश्यले प्रेस काउन्सिल विधेयक तयार पारिएको र विधेयकले कानुनी स्वरूप पाएपछि आचारसंहिता कार्यान्वयन तथा पत्रकारितालाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन काउन्सिलले थप प्रभावकारी भूमिका निर्वाह गर्ने सरकारको अपेक्षा रहेको बताए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले साइबर ठगी नियन्त्रणका लागि सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित निकायबीच समन्वय र सहकार्य भइरहेको पनि सदनलाई जानकारी गराएका छन् ।