Butwal Today

वर्षाले माडीफाँटको धानबालीमा क्षति

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

पाल्पा ।  निरन्तर परेको बेमौसमी वर्षा र तिनाउ नदीमा आएको बाढीका कारण पाल्पाको माडीफाँट क्षेत्रमा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ ।

तिनाउ नदीको बहाव बढेपछि साना खोला तथा खोल्सीमा आएको बाढी खेतमा पसेपछि धानबाली डुबानमा पर्नुका साथै कतिपय स्थानमा खेत कटानसमेत भएको हो । माडीफाँट हुँदै रूपन्देहीको बुटवलतर्फ बग्ने तिनाउ नदीमा पानीको बहाव बढेपछि नदी आसपासका खेत डुबानमा परेका छन् ।

धान भित्र्याउने समय नजिकिँदै गर्दा आएको बाढीले माडीफाँटमा अन्य क्षेत्रको तुलनामा बढी क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । माथागढी गाउँपालिका–चिदीपानीका कृषक लालबहादुर घर्तीले खेतमा खोला पसेपछि आफूले लगाएको करिब सात रोपनी धानबाली नष्ट भएको बताए ।

उनका अनुसार लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि खेतबाटै पानी बग्दा धानबाली बगाउनुका साथै खेतमा समेत क्षति पुगेको छ । “धान पाक्ने बेला भएको थियो । खोलामा पानी बढेपछि खेतबाटै खोला बग्यो ।
सात रोपनीमा लगाएको धानबालीमा ठूलो क्षति भयो,” घर्तीले भने ।

तिनाउ नदीमा पानीको बहाव बढेपछि साना खोला फर्किएर खेतमा पस्दा माडीफाँटको तल्लो क्षेत्रमा ठूलो भूभाग डुबानमा परेको छ । तानसेन नगरपालिका–दमकडाका कृषक बुद्धराज बस्यालका अनुसार माडीफाँटको तल्लो भागमा पाँच सय रोपनीभन्दा बढी धानखेत डुबानमा परेको छ ।

बाढीले धानबालीमा क्षति पु¥याउनुका साथै खेत कटानसमेत गरेको कृषकले बताएका छन् । तिनाउ नदीमा मिसिने साना खोलाले बढी कटान गर्दा कतिपय खेत बगरमा परिणत भएका छन् । कृषक मानबहादुर दर्लामीका अनुसार माडीफाँटमा सय रोपनीभन्दा बढी क्षेत्रफल कटान भएर बगरमा परिणत भएको छ ।

“साना खोलामा पानीको बहाव बढेर खेत काटेको छ । कतिपय ठाउँमा धानखेत नै बगर बनेको छ,” दर्लामीले भने । धानबाली पाक्ने अवस्थामा पुगेका बेला खेतमा बाढी पस्दा उत्पादनमा ठूलो असर पर्ने कृषि प्राविधिकहरू बताउँछन् । लामो समय पानीमा डुबेको धानको बोट कुहिने, दाना झर्ने तथा उत्पादनमा कमी आउने उनीहरूको भनाइ छ ।

कृषक सन्तोष नेपालीले धानका बोट पहेँलिँदै पाक्ने अवस्थामा पुगेका बेला बाढी खेतमा पसेको बताए । उनका अनुसार तीन दिनदेखि वर्षा भए पनि शनिबार राति आएको बाढीले सबैभन्दा बढी क्षति गरेको छ ।

कृषकहरूले पछिल्ला वर्षमा छोटो समयमा बढी उत्पादन लिन रैथाने जातको सट्टा उन्नत तथा वर्णशङ्कर बीउ प्रयोग गर्ने क्रम बढेको बताएका छन् । बाढी र डुबानका कारण यस वर्ष धानको उत्पादनमा कमी आउने उनीहरूको चिन्ता छ ।

स्थानीय कृषकहरूले सडक निर्माणका क्रममा पानी निकास तथा वातावरणीय पक्षलाई पर्याप्त ध्यान नदिँदा पनि तल्लो तटीय क्षेत्रमा कटान र डुबानको समस्या बढेको बताएका छन् । सडक निर्माणमा प्रयोग भएका ठूला मेसिनका कारण प्राकृतिक पानीको निकास प्रभावित हुँदा वर्षाको पानी खेततर्फ पस्ने गरेको उनीहरूको गुनासो छ ।

बेमौसमी वर्षासँगै आएको बाढीका कारण माडीफाँटमा धानबालीसँगै खेतको संरचनामा समेत क्षति पुगेकाले स्थानीय तहले क्षतिको विवरण संकलन गरी राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्ने कृषकहरूले माग गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?