© 2026
भैरहवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिद्धार्थनगर नगर समितिको नेतृत्वका लागि देवराज न्यौपानेले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। न्यौपानेले पदाधिकारीसहित आफ्नो प्यानल सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रदेशसभा सदस्य देवीप्रसाद चौधरी, संविधानसभा सदस्य इस्तियाक अहमद खान र संविधानसभा सदस्य जन्नतुननिशा धुनियाको पनि उपस्थिति रहेको थियो। न्यौपानेको प्यानलबाट नगर समितिको उपसभापतिमा गौरव श्रेष्ठ र निलु श्रीस मगर, सचिवमा धर्मवीर शर्मा तथा सहसचिवमा दिनेश साहानीले उम्मेदवारी घोषणा गरेका छन्।
कार्यक्रममा बोल्दै नेताहरूले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको प्रभावकारी भूमिका स्थापित गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आगामी महाधिवेशनलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संगठन सुदृढीकरण र नयाँ नेतृत्व निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए। सभापतिका उम्मेदवार न्यौपानेले सिद्धार्थनगरमा पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कांग्रेसका नेता तथा कार्यकर्ताबीचको एकता कायम गर्दै स्थानीय नागरिकका मुद्दालाई पार्टीको प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।यस अघि सन्जिव शर्मा रेग्मीले पनि प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए । क्षेत्रीय प्रतिनिधि, वार्ड सभापति गरि ३२४ जनाले बुधबार हुने नगर समितिको निर्वाचनमा आफ्नो प्रतिनिधि चयन गर्नेछन ।