Butwal Today

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैनः उपसभापति भुसाल

६ आश्विन २०८३, मंगलवार
अ+
अ-

अर्घाखाँची । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छिन् । उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको काङ्ग्रेस निर्माण गर्नुपर्ने बताइन् । रिपोटर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपसभापति भुसालले “काङ्ग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन । १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ । आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम काङ्ग्रेस निर्माण गर्नुपर्छ।”

पूर्वउपसभामुख समेत रहेकि नेतृ भुसालले लामो राजनीतिक सङ्घर्षपछि नेपालमा प्राप्त लोकतन्त्रको संरक्षण र संस्थागत विकासमा काङ्ग्रेसको महत्वपूर्ण भूमिका रहेको दाबी गरिन् । मुलुकको समृद्धि र दिगो विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै उनले राजनीतिक दलहरू पनि आन्तरिक रूपमा बलियो हुनुपर्नेमा जोड दिइन् ।जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको जिम्मेवारीमा पुर्‍याएको उल्लेख गर्दै भुसालले वर्तमान सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखिन् । तर, सरकारका गतिविधि हेर्दा जनताले रास्वपालाई विश्वास गरे पनि मुलुक हाँक्ने नेतृत्वमा अपरिपक्वता देखिएको उनको आरोप छ ।

काङ्ग्रेसलाई अहिले जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएको स्पष्ट पार्दै भुसालले तत्काल सरकारमा जाने आफ्नो पार्टीको कुनै योजना नरहेको बताइन् । बलियो प्रतिपक्षका रूपमा सरकारका राम्रा काममा समर्थन गर्ने र गलत कदमको खुलेर विरोध गर्ने उनको भनाइ छ ।काङ्ग्रेसको अहिलेको मुख्य जिम्मेवारी आन्तरिक समस्या समाधान गर्दै संगठनलाई बलियो बनाउनु र पार्टीलाई जनताको पार्टीका रूपमा पुनः स्थापित गर्नु रहेको भुसालले बताइन् । १५औँ महाधिवेशनको प्रमुख कार्ययोजना नै अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिनु रहेको भनाइ छ ।

पूर्वसभापति शेरबहादुर देउवालाई ससम्मान अभिभावकको भूमिकामा स्वीकार गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै भुसालले भनिन्, “अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिने नीति अहिलेको आवश्यकता हो । शेरबहादुर देउवालाई ससम्मान अभिभावक मान्न हामी तयार छौँ र उहाँले पनि यसलाई स्वीकार गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”उनले काङ्ग्रेसलाई आन्तरिक रूपमा बलियो बनाएर लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र मुलुकको विकासका मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता बताईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?