Butwal Today

पेस्तोल र चार गोलीसहित एक जना पक्राउ

चोरीका मोटरसाइकलको नक्कली कागजात बनाएर बिक्री गर्ने गरेको आशंका, दुई ब्लुबुक र चार भारतीय आधारकार्ड पनि बरामद
५ आश्विन २०८३, सोमबार
अ+
अ-

भैरहवा ।

रुपन्देही प्रहरीले पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट टाइप–५४ जस्तो देखिने एक थान पेस्तोल, चार राउन्ड गोली, दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ निवासी ४४ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्ले बताए । उनी दलबहादुर चौधरीका छोरा हुन् ।

प्रहरीलाई चौधरीले चोरीका मोटरसाइकलका लागि नक्कली कागजात तयार गरी बिक्री–वितरण गर्ने गरेको गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा प्रहरी टोलीले आईतबार साँझ करिब पौने ८ बजे सिद्धार्थनगर नगरपालिका–७ स्थित बिध्या पथमा चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा चौधरीलाई रोकेर खानतलासी गर्दा उनको साथबाट टाइप–५४ जस्तो देखिने पेस्तोल र त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद भएको सूचना अधिकारी चन्दे बताए । प्रहरीले त्यससँगै एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्डसमेत फेला पारेको जनाएको छ ।

एउटै व्यक्तिको फोटो प्रयोग भएका दुईवटा सवारी दर्ता किताब तथा विभिन्न भारतीय आधारकार्ड बरामद भएपछि प्रहरीले घटनालाई अवैध हतियारसँगै चोरीका मोटरसाइकल र नक्कली कागजातको सम्भावित कारोबारसँग जोडेर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार बरामद ब्लुबुक र भारतीय आधारकार्ड कुन प्रयोजनका लागि प्रयोग हुँदै आएका थिए तथा ती कागजातको चोरीका मोटरसाइकलसँग कुनै सम्बन्ध छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको छ। यस्तै, बरामद पेस्तोलको वास्तविक प्रकृति, त्यसको स्रोत र प्रयोगका सम्बन्धमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चौधरीलाई बरामद हातहतियार, गोली तथा कागजातसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। अनुसन्धानबाट अवैध हतियार तथा नक्कली कागजातको कारोबारमा अन्य व्यक्तिको संलग्नता भए÷नभएकोसमेत खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?