© 2026
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध दसैँ, तिहार र छठपछि ठूलो जनविद्रोह हुने दाबी गरेका छन्। शनिबार नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाए। उनले सम्भावित आन्दोलनको नेतृत्व र व्यवस्थापनका लागि पार्टी पंक्तिलाई अहिलेदेखि नै तयारी अवस्थामा रहन आग्रह गरे। पुनले प्राकृतिक विपद्पछिको उद्धार तथा राहत, किसानलाई मल, आमनागरिकलाई ग्यास उपलब्ध गराउने विषय र बढ्दो महँगी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए। उनका अनुसार यी विषयलाई लिएर जनतामा असन्तुष्टि र निराशा बढिरहेको छ।
उनले सरकारको कार्यशैलीका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर भएको दाबी गर्दै त्यसको रक्षाका लागि जनताले सडकमा उत्रने समय आएको बताए। पुनले पार्टी पुनर्गठन तथा सुदृढीकरण, वाम शक्तिबीच एकता, लोकतान्त्रिक शक्तिबीच सहकार्य तथा संविधान र व्यवस्थाको रक्षाका लागि अन्तर्राष्ट्रिय जनमत निर्माणलाई अघि बढाउने पनि बताए। आगामी महाधिवेशनपछि पार्टीका सबै संरचनामा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने योजना रहेको उनको भनाइ थियो।