Butwal Today

वामपन्थी दल कमजोर हुनुमा पदमोह र वैचारिक विचलन मुख्य कारण

३ आश्विन २०८३, शनिबार
अ+
अ-

बुटवल । नेपालका वामपन्थी दलहरू कमजोर बन्दै जानुमा बाह्य शक्तिभन्दा पनि नेतृत्वको पदमोह, अवसरवादी प्रवृत्ति, वैचारिक विचलन र कम्युनिस्ट आचरणको अभाव जिम्मेवार रहेको सहभागी नेताहरूले बताएका छन्। पुष्पलाल मित्रता केन्द्रले शनिबार बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी नेताहरूले वामपन्थी आन्दोलनलाई पुनः जनतासँग जोड्न आत्मसमीक्षा, नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र वैचारिक एकता आवश्यक रहेको बताए ।

नेताहरूले कम्युनिस्ट आन्दोलनको शक्ति जनतासँगको सम्बन्ध, विचार र सङ्गठनमा हुनुपर्नेमा पछिल्लो समय नेतृत्व सत्तामुखी र पदकेन्द्रित बन्दै जाँदा जनतासँगको दूरी बढेको बताएका थिए। वामपन्थी घटकहरूबीचको विभाजनले सङ्गठनात्मक कमजोरीसँगै राष्ट्रियता र सार्वभौमिकताका सवालमा समेत सामूहिक आवाज कमजोर बनेको उनीहरूको भनाइ थियो। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले नेतृत्वको पदमोह, अवसरवादी प्रवृत्ति र कम्युनिस्ट आचरणको अभावका कारण नेपालमा वामपन्थी शक्ति कमजोर बन्दै गएको बताए।

उनले गत वर्षको जेनजी आन्दोलनपछि कम्युनिस्ट पार्टीहरू थप कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै नेतृत्वमा रहेका नेताहरूले विगतका कमजोरीको आत्मसमीक्षा गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए। रावलले नेताहरूले लामो समयसम्म पदमा बसिरहनुभन्दा योगदान र त्यागको सम्मानसहित नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए। उनले भने, “मानिस कति पटक प्रधानमन्त्री भएपछि, कतिपटक अध्यक्ष भएपछि र कति पैसा भएपछि सन्तुष्ट हुन्छ ”वामपन्थी शक्ति बलियो बनाउन आफू सहकार्य र एकताको पहलमा हस्ताक्षर गर्न तयार रहेको बताउँदै रावलले ‘म र मेरो पद’ भन्ने प्रवृत्तिले राजनीतिक आन्दोलनलाई कमजोर बनाएको दाबी गरे।

उनले सुकुम्वासी, मजदुर र किसानका मुद्दालाई राजनीतिको केन्द्रमा ल्याउनुपर्नेमा जोड दिए। जनताले आफ्ना वास्तविक समस्या सम्बोधन गर्ने राजनीतिक शक्ति खोजिरहेको उनको भनाइ थियो।रावलले राष्ट्रियता र स्वाधीनताको विषयमा पनि वामपन्थी शक्तिहरूले साझा धारणा बनाउनुपर्ने बताए। उनले केही सरकारी निर्णय तथा अन्तर्राष्ट्रिय सम्झौताबारे प्रश्न उठाउँदै राष्ट्रिय हितका विषयमा गम्भीर बहस आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता चक्रपाणी खनाल ‘बलदेव’ले वर्तमान सरकारविरुद्ध कम्युनिस्ट पार्टीहरूबीच एकता र संघर्ष आवश्यक रहेको बताए। उनले मदन भण्डारी र प्रचण्डको राजनीतिक स्कुलिङबाट आएका शक्तिहरूबीच पुनः सहकार्यको आवश्यकता नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले पनि कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको बताए। उनले युवाहरूलाई पार्टी सदस्यमा सीमित नराखी जिम्मेवारी र नेतृत्वमा स्थापित गर्ने नीति आवश्यक रहेको बताए।

“एल्गोरिदम, दाउपेच र षड्यन्त्रले हारेको भनियो भने त्यो बेठिक हुन्छ,” भट्टराईले भने, “नेतृत्व हस्तान्तरण गरेर सहज बाटोमा जानुपर्छ।” पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले २०६४ सालदेखि क्रमशः वामपन्थी दलहरूको जनमत खस्किँदै गएको बताए। कम्युनिस्ट पार्टीहरू अलग–अलग अवस्थामा रहँदा जनतामा उत्साह पैदा हुन नसकेको भन्दै उनले वामपन्थी दलहरूको भूमिकाबारे देशव्यापी बहस सुरु गरिएको जानकारी दिए। कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता वामदेव क्षेत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, नेकपा लुम्बिनीका संयोजक अब्दुल हुसेन, वाम बुद्धिजीवी घनश्याम पाठक, नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसी, नेकपा नेता लक्ष्मी भुसाल र अनिलकिशोर घिमिरेलगायतले धारणा राखेका थिए।

पुष्पलाल मित्रता केन्द्रले ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा साउन ७ गते बागमती प्रदेशबाट सुरु गरेको अभियानअन्तर्गत देशका सातै प्रदेशमा कार्यक्रम आयोजना गरेको जनाएको छ। केन्द्रका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिबीच एकता र लोकतान्त्रिक शक्तिबीच सहकार्यको सम्भावनाबारे बहस अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?