काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ ।
प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचीकार) २५ जना माग गरिएको छ ।
इच्छुक उम्मेदवारले आगामी १२ असोजदेखि १० कात्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रहरी कार्यालय सहायक पदका लागि भने १२ असोजदेखि १० कात्तिकसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।