© 2026
स्विट्जरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले भेडाको ऊनबाट बनेका कम्बल अर्थात् च्यादर ओढाएको घटना सार्वजनिक भएको छ । वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन् ।
ऊनका कम्बलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् ? त्यो भोलिको दिनमा स्पष्ट होला । सवाल नेपालको पनि त्यही अवस्था आउने हो कि भन्ने चिन्ताको हो । नेपालका हिमाल अत्यधिक तापमान वृद्धिका कारण कालो पहाडमा परिणत हुने चिन्ता बढिरहेको बेला स्वीट्जरल्याण्डको यो उपाय प्रभावकारी भयो भने यहाँ पनि हिमालमा कम्बल ओढाउने अवस्था नआउला भन्न सकिदैन् ।
पछिल्लोसमय हिउँले ढाकिएका हिमालको रूपमै परिवर्तन आउँदै गएको छ । विगतको बर्षपनि चिसो मौसम सुरु हुँदा पनि हिउँ नपर्दा यो वर्ष गर्मीयाम तराईका लागि निकै चुनौतीको वर्ष रह्यो । बढ्दो गर्मीका कारण हिउँ पग्लिएर हिमाली क्षेत्र झनै उजाड बन्ने जोखिम देखिएको छ । त्यसो त तापमानमा वृद्धि विश्वव्यापी समस्या हो ।
स्वीट्जरल्याण्ड जस्तो देशमा त हिमाललाई कम्बल ओढाउने जुक्ति खोजिएको छ । समयमै हिमाल सुरक्षामा ध्यान नदिए नेपालको अवस्था के होला ? चिन्ताको कुरा छ । नेपाललाई यसले झनै छिटो प्रभावित गर्ने देखिएको छ । पछिल्ला तथ्याँहरूका अनुसार वैज्ञानिक अध्ययनले हिमालय क्षेत्रबाट हिउँ तीव्र रूपमा पग्लिरहेको देखाएको छ ।
यो अनपेक्षित परिघटनाका लागि जलवायु परिवर्तन एक प्रमुख कारण मानिएको छ । केही दिनअघि मात्रै सार्वजनिक गरिएको एक अध्ययनले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको देखाएको छ ।
सो अध्ययन अनुसार सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको साउथ कोल ग्लेसियरको मोटाइ गएको २५ वर्षमा १८० फिट अर्थात् ५४ मिटरले घटेको छ । हिमनदीमा रहेको हिउँको थुप्रोमा भएको क्षयीकरणका कारण त्यसभित्र रहेको कालो हिउँमा सूर्यको किरण पुग्दा यसको पग्लने क्रममा तीव्रता आएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले जनाएका छन् ।
निश्चित रूपमा विश्व तापमान वृद्धिको असर नेपालको हिमाली क्षेत्रमा पर्न थालेको छ । जाडो याममा पनि हिउँ नपर्दा हिमालको स्वरूप नै बिग्रिने अवस्था आएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पर्ने देखिएको छ ।
विश्वमै चुनौतीको रूपमा देखिएको जलवायु परिवर्तनले सिर्जित मौसमका कारण विश्वका कतिपय स्थानमा अत्यधिक हिमपात र वर्षा हुने गरेको छ भने कतै आँधीबेहरीले प्रभावित गरेको छ । मंगलवार मात्रै अमेरिकामा आएको आँधीबेहरीले त्यहाँको जनजीवनमा प्रत्यक्ष असर परेको छ ।
ब्राजिलमा आएको बाढी र पहिरोका कारण त्यहाँका जनजीवनमा समेत ठुलो असर परेको छ । पाकिस्तानले गएको बर्षायाममा कति पीडा र क्षति बेहो¥यो त्यो हामी सबैले जानकारी पाएकै विषय हो । नेपालको भोटेकोशी बाढीको घटना विश्वकै लागि त्रासदीको रूप हो । अव जाडो याम सुरु हुन लागेको छ । हिमाली क्षेत्रमा ग्लेसियर पग्लिएर त्यस्तो कुनै अनिष्ट नहोस ।
जेहोस वैज्ञानिकहरूले नेपालको भोटेकोशी बाढीको विपत्तिको कारण, रोकथाम र समाधानको विषयमा विहंगम अध्ययन गरिरहेका छन् । अव नेपालमा भोटेकोशी बाढीको बिद्रुप रूप कहिल्यै देख्नु नपरोस् । तर, त्यसका लागि अहिलेदेखि नै पूर्व तयारीको काममा ध्यान दिनु जरुरी छ ।
विश्व तापमानमा भैरहेको वृद्धिले जलवायु, समुन्द्र सतह तथा पृथ्वीमा रहेका समग्र जीवनलाई प्रभावित गर्ने निश्चित छ । हिमनदी तटीय क्षेत्रका बासिन्दा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपसँग जुध्नुपर्ने स्थिति सिर्जना भएको छ ।
यो नेपालका लागि ठुलो समस्या बन्दै गएको छ । तसर्थ नेपालले हिमाल जोगाउने विषयमा अव कुनै कसर बाँकी नराखोस् । हिमाल सुरक्षित भएमात्रै हामी सुरक्षित हुनेछौं । अव नेपालको हिमालमा स्वीट्जरल्याण्डमा जस्तै कम्बल ओढाउने दिन नआओस् ।