Butwal Today

योजनाबद्ध रूपमा मन्दिरमा श्रद्धालुको गहना चोर्ने ८ भारतीय महिला पक्राउ  

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

कपिलवस्तु ।

कपिलवस्तुको तौलिहवा स्थित ऐतिहासिक तथा धार्मिक स्थल तौलेश्वरनाथ मन्दिरमा तीजको भिडभाडको फाइदा उठाउँदै गहना चोरी गर्ने गिरोहका ८ जना महिलालाई कपिलवस्तु प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

पछिल्लो एक वर्ष यता सङ्गठित रूपमा चोरी गर्ने ८ जना भारतीय महिलालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, महाराजगन्ज जिल्लाको प्रतावलकी  उषा देवी हरिजन, गोरखपुर जिल्लाको चौरीचौराकी गीता देवी चमार र रिता देवी चमार, सिद्धार्थनगर जिल्लाको सोहरतगढकी उषा देवी चमार, सिद्धार्थनगरकै नुस्काबजारकी सिला हरिजन तथा गोरखपुर जिल्लाको क्याम्पियरगञ्जकी अनिता देवी हरिजन, उस्का बजारकी काजल हरिजन, माहाराजगंज जिल्ला फरेन्दाकी राजमती चमार रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका महिलाहरूबाट चोरीको दुई थान सुनको सिक्री फेला परेको छ । पक्राउ परेकी मध्य सिला गर्भवती रहेको र काजलको साथमा ६ महिनाको दुधे बालीका रहेको भेटिएको छ । सिंहका अनुसार सोमबार तीजका दिन दिउँसो पौने २  बजे मन्दिर परिसरमा दर्शनार्थी महिलाको गहना चोरी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेका महिलाहरूको हुलिया र चोरी गर्ने शैली विगतमा तौलेश्वरनाथ मन्दिरमा भएका चोरीका घटनासँग हुबहु मिले पछि उनीहरू लामो समयदेखि मन्दिरमा सक्रिय चोरीको गिरोह भएको आशङ्का गरेको थियो । त्यसपछि प्रहरीले मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी फुटेजको अनुसन्धान गर्दा विगतका घटना सँग उनीहरूको संलग्नता जोडिएको खुलेको जनाइएको छ ।

प्रहरीको अनुसन्धानमा २०८२ भदौ १० गते गत वर्षको तीजका दिन पनि यही समूहले मन्दिरमा पूजा गर्न आएका भक्तजनका सुनका गहना चोरी गरेको थियो । चोरीपछि उनीहरू मर्यादपुर नाका हुँदै भारत तर्फ फरार भएको सिसिटिभी फुटेज तथा अनुसन्धानबाट खुलेको नायब उपरीक्षक सिंहले स्पष्ट पारे । त्यसै गरि २०८३ साउन २५ गते बोलबमका दिन बिहान साढे सात बजे मन्दिर प्रवेश गरेकी एक महिलाको पछाडि अर्की महिला प्रवेश गरेको सिसिटिभीमा देखिएको थियो ।

सिल्भर रङको साडी लगाएकी, हातमा चुरा र बायाँ हातमा प्लास्टिकको ओङ्खरा बोकेकी ती महिलाले अगाडि रहेकी दर्शनार्थीलाई दाँतले टोकेर ध्यान मोड्दै सुनको गहना चोरी गरेको दृश्य समेत सिसिटिभीमा कैद भएको थियो ।

उक्त घटनामा देखिएको चोरीको शैली, हुलिया तथा कपडा र गत वर्षको तीजमा चोरी गरेर भारत तर्फ भागेको समूह सँग अहिले पक्राउ परेका महिलाहरूको विवरण मिलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । यसरी तीजको दिन चोरी गर्दा गर्दै पक्राउ परेको समूह नै तौलेश्वरनाथ मन्दिरमा पटक–पटक हुने गहना चोरीका घटनामा संलग्न मुख्य समूह हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

पक्राउ परेका ८ महिला माथि थप अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको उनले स्पष्ट पारे । कपिलवस्तु प्रहरीले पटक पटक तौलिहवा स्थित तौलेश्वरनाथ मन्दिरमा चोरी गर्दै आएको भारतीय महिलाको गिरोहलाई नियन्त्रणमा लिन सफल हुनुलाई नागरिकले सकारात्मक रूपमा लिएका छन् ।

सो समूहले श्रद्धालुलाई सामूहिक रूपमा घेराबन्दी गरेर एक जनाले कपडा तान्ने र अरूले दाँतले टोकेर सिक्री चोरी गर्ने गर्दै आएको देखिएको नायब उपरीक्षक सिंहले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?