© 2026
ब्रसेल्स ।
बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (इयु) ले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेपछि बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधरले आलोचना गरेका छन् । इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी साता युरोपेली संसद्मा नाबालिगको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी गरेकि छन् ।
इयुले १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने वा १५ वर्षभन्दा कम उमेरकालाई प्रतिबन्ध लगाउने विकल्पमाथि विचार गरिरहेको छ । फ्रान्सले १५ वर्षको उमेर सीमा प्रस्ताव गरेको छ भने विशेषज्ञ समूहले १३ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध सिफारिस गरेको छ । अस्ट्रेलियाले गत डिसेम्बरमा किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि बेलायतलगायत अन्य मुलुकले पनि यस्तै व्यवस्था गर्ने तयारी गरेका छन् ।
सामाजिक सञ्जालका आलोचकले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव बढ्दै गएको बताएका छन् । तर बाल अधिकार समूहले प्रतिबन्धले अभिव्यक्ति, सूचना प्राप्त गर्ने अधिकार र सामाजिक सम्बन्धमा असर पार्ने चेतावनी दिएका छन् । एक सय ३२ संस्था तथा विज्ञले पूर्ण प्रतिबन्धको सट्टा ठूला प्रविधि कम्पनीलाई प्लेटफर्म सुरक्षित बनाउन बाध्य पार्न इयुलाई आग्रह गरेका छन् ।
एस्टोनियाकी डिजिटल मन्त्री लिसा–ली पाकोस्टाले पनि प्लेटफर्मलाई सुरक्षित बनाउनुपर्ने बताइन । इयुले डिजिटल सेवा ऐनमार्फत फेसबुक, इन्स्टाग्राम र टिकटकका बालबालिकालाई लक्षित तथा लत लाग्ने डिजाइनमा सुधार गर्न दबाब दिँदै आएको छ ।
इयुले उमेर प्रमाणीकरणका लागि छुट्टै एप तयार गरिरहेको छ । उक्त प्रणालीले प्रयोगकर्ताको नाम वा जन्ममिति सङ्कलन नगरी तोकिएको उमेर पुगे–नपुगेको मात्र पुष्टि गर्ने ‘शून्य–ज्ञान प्रमाण’ प्रविधि प्रयोग गर्ने जनाएको छ । तर डिजिटल अधिकार समूहले यसबाट गोपनीयता प्रभावित हुन सक्ने बताएका छन् । विज्ञहरूले एपको प्रारम्भिक नमूनामा सुरक्षा कमजोरी देखाएका छन् भने सुरक्षा सल्लाहकार पल मुरले उक्त प्रणाली पार गर्न सफल भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्मलाई इयुको एप नै प्रयोग गर्नुपर्ने बाध्यता छैन । तर वैकल्पिक प्रणाली प्रयोग गरे पनि उमेर प्रमाणीकरण र बाल सुरक्षा प्रभावकारी रहेको प्रमाणित गर्नुपर्नेछ । रासस