बेइजिङ ।
टाइफुन ‘साउडेल’का कारण केही दिनदेखि परेको भारी वर्षापछि पूर्वी चीनको जियाङ्सी प्रान्तमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । पहिरोका कारण दर्जनौँ घरमा क्षति पुगेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
शनिबार बिहान जियाङ्सीको सुइचुआन काउन्टीस्थित एक गाउँमा पहिरो गएको थियो । घटनालगत्तै उद्धारकर्मीहरू परिचालन गरिएको थियो भने थप जोखिमबाट जोगाउन स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
उद्धारका क्रममा एक जनालाई मृत अवस्थामा फेला पारिएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो । आइतबार बिहान उद्धारकर्मीहरूले बेपत्तामध्ये थप एक जनाको शव भत्किएका घरको भग्नावशेषबाट निकालेको सरकारी प्रसारण संस्था सीसीटीभीले जनाएको छ ।
टाइफुनका कारण परेको भारी वर्षापछि मध्य–दक्षिण चीनको हुनान प्रान्तमा पनि दुई जनाको मृत्यु भएको सिसिटिभीले जनाएको छ ।
मृत्युको कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । तर, लगातारको वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपद् निम्तिएको बताइएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ‘साउडेल’ ले अगस्ट २८ मा झेजियाङ प्रान्तमा दुई पटक र बिहीबार फुजियान प्रान्तमा उष्णकटिबन्धीय आँधीका रूपमा तेस्रोपटक जमिनमा प्रवेश गरेको थियो । झेजियाङ र फुजियान दुवै जियाङ्सीसँग जोडिएका प्रान्त हुन् ।
फुजियानमा केही दिनदेखि परेको भारी वर्षापछि धेरै मानिसको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । यकिन सङ्ख्या सार्वजनिक नभए पनि पुटियान सहरको हुआटिङ टाउनमा १०० भन्दा बढी घर भत्किएको सिन्ह्वाले जनाएको छ ।
बिहीबार दिउँसो बाँध फुटेपछि केही गाउँ डुबानमा परेका थिए र बासिन्दाहरू बाढीमा फसेका थिए । सिन्ह्वाका अनुसार शुक्रबार रातिसम्म फुजियानका जोखिमपूर्ण तटीय तथा भित्री क्षेत्रबाट करिब छ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।
सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा केही सडकहरू बाढीको पानीले भरिएर नदीजस्तै बनेका देखिन्छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हावाले भरिने डुङ्गासमेत प्रयोग गरिरहेका छन् ।
भारी वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । रासस