© 2026
किन्शासा ।
लोकतान्त्रिक गणतन्त्र कङ्गो र यसका साझेदारहरूले इबोला प्रकोपको बिरूद्धका प्रयासहरू तीव्र पार्न १८०–दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना सुरू गरेको जनाइएको छ । जसको लागि एक अर्व ३० करोड अमेरिकी डलर आर्थिक कोषको आवाश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा, सञ्चालित योजनाले आगामी ६ महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्ग दर्शनको रुपमा काम गर्ने उद्देश्य राखेको जनाइएको छ ।
अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालय अनुसार, बुन्डिबुग्यो भाइरसबाट फैलिएको इबोलाबाट सेप्टेम्बर २ सम्ममा ६ हजार ३४२ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमित मध्ये ३ हजार ७२ जनाको मृत्यु भएको छ । यो प्रकोप कङ्गोका ६ वटा प्रान्तका ६० वटा स्वास्थ्य क्षेत्रमा फैलिएको जनाइएको छ ।
स्वास्थ्य सुविधाहरूबाट वञ्चित रहेका समुदायहरूमा मृत्युको अनुपात उच्च रहेको विषयमा चिन्तित रहेको स्वास्थ्य अधिकारीहरूले जनाइएका छन् ।
डीआरसीमा डब्ल्यूएचओका कार्यवाहक प्रतिनिधि एनी एन्सियाले सङ्क्रमण पत्ता लाग्न ढिलो भएकाले सुरुवाती चरणमै आवाश्यक स्रोतहरू परिचालन गर्न नसकिएकाले ज्यान गुमाउनेहरुको सङ्ख्या धेरै भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग द्रुत र समन्वित कारबाहीको आह्वान गरेका छन् ।
कङ्गोका स्वास्थ्य मन्त्री रोजर कम्बाले प्रकोपलाई नियन्त्रण गर्न समुदाय, सरकारी निकाय, साझेदार र दाताहरूका साथै स्वास्थ्य क्षेत्रभन्दा बाहिरका प्रयासहरू पनि आवश्यक रहेको बताएका छन् । प्रत्येक कङ्गोवासीको सुरक्षा र संरक्षणको लागि सरकार पूर्ण रूपमा परिचालन भएकोसमेत कम्बाले जनाए ।
कङ्गोमा संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक डेमियन मामाले इबोला नियन्त्रण प्रतिक्रियालाई व्यापक मानवीय प्रयासमा एकीकृत गर्न पर्याप्त, उद्धार र पूर्वानुमान योग्य कोषलगायत समर्थन गर्न आवश्यक रहेको बताएका छन् ।
अफ्रिका सिडिसिले पनि इबोला नियन्त्रणमा प्रयासमा स्रोत परिचालन, साझेदारहरूसँग आवाश्यक समन्वय र समुदायहरूको उच्चतम संलग्नता सहित राष्ट्रिय प्रतिक्रिया प्रयासहरूको लागि निरन्तर समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
कङ्गोमा गत मे महिनामा आधिकारिक रूपमा घोषण गरिएको इबोला प्रकोप, अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठुलो र छिटो फैलिएको इबोला प्रकोपको रुपमा परिचित भएको छ ।