© 2026
काठमान्डौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकलाई मात्र नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरैका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी गुमाउनुपरेको भन्दै गहिरो दुःख व्यक्त गरे ।
‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ उनले संसदमा भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो ।’
विपद्को कठिन घडीमा सरकार पछि नहट्ने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले प्राकृतिक प्रकोपविरुद्ध जुध्नुको विकल्प नभएको बताए । ‘यो विपदमा लड्नुको हामीसँग विकल्प थिएन, हामी लडिरहेका छौँ,’ उनले भने ।
उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यलाई तीव्रता दिइएको र पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको जानकारी दिए ।
प्रधानमन्त्री शाहले विपद्को समयमा सबै राजनीतिक दल तथा नागरिकलाई एकजुट भएर सामना गर्नसमेत आग्रह गरे ।