© 2026
काठमान्डौँ ।
नेपालमा आएको हिमपहिरोपछि सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ (जिरोङ) नाकामा भीषण लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ । गत भदौ १० गते गएको उक्त पहिरोका कारण केरुङ नाकाको चीनतर्फ १६ जनाको मृत्यु भएको छ भने ५४६ जना बेपत्ता भएका छन् ।
चौबीसै घण्टा खटिएका उद्धारकर्ताहरूले बुधबार बिहान जी–२१६ राष्ट्रिय राजमार्ग सञ्चालनमा ल्याएपछि मुख्य विपद् प्रभावित क्षेत्रमा ठूला सवारीसाधन र भारी उपकरण पुर्याउन सफल भएका छन् । सडक खुलेसँगै बेपत्ता भएकाहरूको थप विस्तृत र गहन खोजीका लागि ठूला उपकरणसहित उद्धार टोली परिचालन गरिएको छ ।
अप्ठ्यारो भूगोल, प्रतिकूल मौसम र पहिरोको भीषण अवस्थाका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ । भिरालो जमिन, लेदोको तीव्र बहाव र साँघुरो उपत्यकाका कारण क्षति ठूलो भएको विशेषज्ञहरूले बताएका छन् । कतिपय स्थानमा घुँडा र कम्मरसम्म लेदो जमेकाले उद्धार टोलीलाई हिँडडुल गर्न तथा सामान्य उपकरण प्रयोग गर्नसमेत कठिनाइ भइरहेको छ ।
यस्ता चुनौतीका बाबजुद उद्धार टोली समयसँग प्रतिस्पर्धा गर्दै बेपत्ताको खोजीमा जुटेका छन् । पैदल टोलीले जमिन ढकढक्याउने, चिच्याउने तथा सम्भावित आवाज सुन्ने प्रयास गर्दै खोजी गरिरहेका छन् । त्यस्तै, तालिमप्राप्त कुकुर र आधुनिक जीवन पहिचान उपकरणसमेत प्रयोग गरिएको छ ।
तिब्बत सीमा नियन्त्रण टोलीका प्रहरी अधिकारी ये यीले खोजी कार्यलाई थप तीव्र पारिने बताएका छन् । उनले भने, ‘हामी खोजीलाई तीव्र बनाउँछौँ । हामी हार मान्दैनौँ, कसैलाई पनि छाड्दैनौँ र बेपत्ता भएकाहरूलाई खोज्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्नेछौँ ।’
विपद् प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापित गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । सञ्चार सेवा प्रदायकहरूले आपत्कालीन बेस स्टेसन स्थापना गर्नुका साथै ‘विङ लोङ’ जस्ता ठूला मानवरहित हवाई सवारी (ड्रोन) मार्फत सञ्चार सम्पर्कलाई निर्बाध बनाएका छन् । यसले उद्धार, निर्देशन तथा राहत सामग्री वितरणको समन्वयमा सहयोग पुर्याएको छ ।
जिफु गाउँका तीनवटा अस्थायी शिविरमा १५० भन्दा बढी सर्वसाधारणलाई राखिएको छ । ती शिविरमा चिनियाँ जनमुक्ति सेनाको टोलीले औषधि, उपचार तथा मनोवैज्ञानिक परामर्श उपलब्ध गराइरहेको छ ।
नेपालमा गएको सोही पहिरो र बाढीका कारण स्थिति झनै भयावह बनेको छ । नेपाली अधिकारीहरूका अनुसार विपद्मा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार १०० नाघेको छ भने ४ हजारभन्दा बढी अझै बेपत्ता छन् ।
चीनले नेपाललाई आपत्कालीन सहयोगको दोस्रो किस्ता पठाएको छ । हवाई मार्गबाट काठमाडौँ ल्याइएको राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण गर्ने मेसिन र बत्तीहरू समावेश छन् ।
राहत सामग्रीसँगै आएका चीनका पाँच जना डीएनए पहिचान विशेषज्ञ काठमाडौँ ओर्लिएलगत्तै नेपाललाई सहयोग गर्न प्रत्यक्ष प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालसँग विपद् व्यवस्थापन तथा सूचना आदानप्रदानका विषयमा निरन्तर सम्पर्क भइरहेको बताएका छन् ।
चीन नेपालका साथमा दृढतापूर्वक उभिने र छिमेकी मित्रराष्ट्रका रूपमा सहकार्य जारी राख्ने उनको भनाइ छ । चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि चीनले हरसम्भव प्रयास गरिरहेको उनले स्पष्ट पारेका छन् ।