Butwal Today

नदीले ल्याएका सयौँ शव, परिवारको पर्खाइमा

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

चन्द्रौटा ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सयौँको शव तथा शरीरका अङ्ग फेला परेका छन् । केही शव भारततर्फ पुगे । केही लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १ सय ६३ भेटिए । अहिले ती शव पहिचानको पर्खाइमा छन् । आफन्तको खोजी जारी छ । पहिचान नखुलेका शव भने अन्तिम व्यवस्थापनको पर्खाइमा छन् ।

फेला परेका शव तथा शरीरका अङ्ग र भारतबाट ल्याइएका शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न लागिएको सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी चन्द्रौटाका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले बताए ।

उनका अनुसार शव पहिचान हुन नसकेको अवस्थामा पनि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित स्थानमा व्यवस्थापन गरिने छ । सोमबार पश्चिम नवलपरासीको सुनवलस्थित मुलपानी सामुदायिक वनको कोरोना डाँडामा ६८ शवको व्यवस्थापन गरिएको छ । शव व्यवस्थापन गर्नुअघि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढीमा परी मृत्यु भएकामध्ये तीन जनाको भने पहिचान खुलेपछि शव आफन्तलाई बुझाइएको छ । पहिचान हुनेमा गोरखाको पालुङटारका २८ वर्षीय सोमी कुमाल, धादिङको गजुरीका ३५ वर्षीय प्रकाश ज्ञामी मगर र काभ्रेको रोशी गाउँपालिका घर भई नुवाकोटको विदुर नगरपालिका–बेत्रावतीमा होटेल तथा किराना पसल सञ्चालन गर्दै आएका शंखबुद्ध तामाङ रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार भदौ ११ गतेदेखि १५ गतेसम्म पश्चिम नवलपरासीका विभिन्न स्थानमा बाढीले बगाएर ल्याएका १ सय १६ शव र ४७ वटा शरीरका अङ्ग फेला परेका छन् । फेला परेका शवमध्ये ३३ जना महिला, ७० जना पुरुष, सात बालक, ५ बालिका र एक शवको लिङ्ग पहिचान हुन सकेको छैन । त्यस्तै, बाढीको तीव्र भेलले भारततर्फ बगाएर लगेका चार जनाको शवसमेत नेपाल ल्याइएको छ । भारतबाट ल्याइएका शवमा तीन महिला र एक पुरुष रहेका छन् । सोमबार मात्रै थप आठ शव फेला परेको सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले सशस्त्र प्रहरीले जनाए ।

प्रहरीका अनुसार बाढीपछि सुस्ता गाउँपालिका–४ र ५ अन्तर्गत नारायणी नदी किनारका विभिन्न स्थानमा शव तथा शरीरका अङ्ग फेला परेका थिए । सुरक्षाकर्मीले नदी किनार तथा बाढी प्रभावित क्षेत्रबाट शव र अङ्ग सुरक्षित रूपमा सङ्कलन गरी पहिचानका लागि सम्बन्धित अस्पताल तथा शव गृहमा राखेका थिए । हाल लुम्बिनी प्रादेशिक अस्पतालमा ४, भीम अस्पताल भैरहवामा ३, पिपरा अस्पताल कपिलवस्तुमा ५, पृथ्वीचन्द्र अस्पताल परासीमा ९७, युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवा र पाल्पाका तीन अस्पतालमा ८ शव राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?