Butwal Today

बाढी प्रभावित क्षेत्रमा पुग्न वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्राधिकरणको अनुरोध

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा आवतजावतका लागि वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले सोमबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । आपत्कालीन अवस्थामा अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्नुपर्ने र क्रमशः वैकल्पिक सडकमार्गसमेत खुल्न थालेकाले अत्यावश्यक हवाई उद्धार आवश्यक नभएकाहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

धादिङ जोड्ने वैकल्पिक मार्गका रूपमा धादिङबेसी–परवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केरुङटार हुँदै मस्तार (ह्यामलेट रेस्टुरेन्ट) बाट पृथ्वी राजमार्गसम्मको सडक प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा विदुर–ढिकुरे–चौडा–आप्र–नर्जी–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोहोतीटार (पासाङ ल्हामु राजमार्ग, रसुवा)–कालिकास्थान–धुन्चे जाने सडकमा चारपांग्रे साना सवारीसाधन सञ्चालन गर्न सकिने जनाइएको छ ।

बाढीबाट न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हवाई उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ ।

विपद्को चरम अवस्थामा सीमित साधन–स्रोतको अधिकतम सदुपयोग गर्न आवश्यक काममा मात्र हेलिकोप्टर प्रयोग गर्ने वातावरण बनाउन प्राधिकरणले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?