Butwal Today

बेपत्ता पारिएका आफन्तको खोजीमा २० वर्षदेखि आशा, ‘सास वा लासको टुंगो लगाइदिनुपर्‍यो

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

लिवाङ । सशस्त्र द्वन्द्व समाप्त भएको दुई दशक पुग्न लाग्दा पनि द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको अवस्था सार्वजनिक नहुँदा रोल्पाका पीडित परिवारको पीडा अझै उस्तै छ । राज्य पक्ष वा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका आफन्त फर्किएर आउने आशा बोकेर बसेका परिवारका लागि हरेक वर्ष आउने अन्तर्राष्ट्रिय बेपत्ता दिवस सम्झना, पीडा र न्यायको खोजी गर्ने दिन बन्ने गरेको छ । आफन्त बेपत्ता भएको वर्षौं बितिसक्दा पनि उनीहरू जीवित छन् कि छैनन् भन्ने यकिन हुन नसक्दा परिवारजन दोहोरो पीडामा छन् ।

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न, परिवारलाई सत्य र न्यायको अनुभूति गराउन तथा राज्यले आफ्ना नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने माग गर्दै रोल्पाको लिवाङमा अन्तरक्रिया तथा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय बेपत्ता दिवस २०२६ को अवसरमा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको आयोजनामा तथा सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जालको सह–आयोजनामा आइतबार लिवाङमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभापति नौंलसिंह पुनको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्ती प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष खुविना सुनारीमगर, गैरसरकारी संस्था जिल्ला समन्वय समिति रोल्पाका अध्यक्ष शुभन्द्र रेग्मीलगायत द्वन्द्वपीडित तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले वर्षौंदेखि आफूहरूले भोग्दै आएको पीडा, आफन्तको खोजीमा राज्यका विभिन्न निकाय धाउँदाको अनुभव र अझैसम्म आफन्तको अवस्था सार्वजनिक हुन नसकेको गुनासो राखेका थिए । उनीहरूले बेपत्ता आफन्तको सत्यतथ्य सार्वजनिक गरी सास वा लासको टुंगो लगाउन सरकारसँग माग गरेका थिए ।

नेपालमा तत्कालीन माओवादीले २०५२ सालबाट सुरु गरेको सशस्त्र द्वन्द्व अन्त्य भएको लामो समय बितिसकेको छ । द्वन्द्वका क्रममा हजारौं नागरिकले ज्यान गुमाए । धेरै मानिस अंगभंग भए । कतिपय परिवार घरबारविहीन बने भने कैयौं नागरिक बेपत्ता पारिए । देश शान्ति प्रक्रियामा प्रवेश गरेको पनि वर्षौं बितिसकेको अवस्थामा द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था अझै सार्वजनिक हुन नसक्दा पीडित परिवारको प्रतीक्षा अन्त्य हुन सकेको छैन ।
बेपत्ता आफन्त फर्किएर आउने आशामा वर्षौं बिताएका परिवारका लागि समय बित्दै जाँदा आशा र निराशा दुवै बढ्दै गएको छ । आफन्तको मृत्यु भएको आधिकारिक जानकारी नहुँदा उनीहरूले मृत्यु संस्कारसमेत गर्न सकेका छैनन् । जीवित रहेको प्रमाण पनि छैन र मृत्यु भएको आधिकारिक जानकारी पनि छैन । यही अन्योलले परिवारलाई हरेक दिन मानसिक पीडा दिइरहेको छ ।

रोल्पा नगरपालिका–३ खुमेलकी ७८ वर्षीया माली रोका क्षेत्री पनि यस्तै पीडा बोकेर बाँचिरहेकी छन् । उनका जेठा छोरा मणिराम रोका क्षेत्री सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका थिए । छोरा बेपत्ता भएको वर्षौं बितिसक्दा पनि उनी फर्किएर घर आउने आशा मालीको मनबाट अझै मरेको छैन । मालीका अनुसार सशस्त्र द्वन्द्वले उग्र रूप लिइरहेका बेला एक बिहान उनका छोरा घरमा खाना खाइरहेका थिए । त्यही समयमा माओवादी पक्षका केही मानिस घरमा आएर औषधि किन्न सुलिचौर बजार जानुपर्ने भन्दै मणिरामलाई लिएर गएको उनले बताइन् । सुलिचौर बजार गएका छोरा त्यसपछि घर फर्किएनन् ।

छोरा बजारबाटै पक्राउ परेको भन्ने खबर आफूले पछि पाएको मालीले बताइन् । उनका अनुसार मणिरामलाई माओवादीका लागि औषधि लिन गएको आरोपमा प्रहरीले पक्राउ गरेको भन्ने जानकारी पाएकी थिइन् । तर, उनका छोरा माओवादी नभएको मालीले बताइन् । भारतबाट रोजगारी गरेर घर फर्किएको करिब एक महिनापछि छोरा बेपत्ता भएको उनले बताइन् । मणिराम रोजगारीका लागि भारत आउने–जाने गर्ने गरेको उनले बताइन् । बेपत्ता हुँदा छोरा १७ वर्षको रहेको मालीले बताइन् । छोरा बेपत्ता भएको ठ्याक्कै मिति भने उनलाई अहिले सम्झना छैन ।

‘छोरा आउँछ कि भन्ने आशमा मात्र छु । बेपत्ता हुने बेला १७ वर्षको थियो । माओवादीको औषधि लिन जाँदा सुलिचौरबाटै बेपत्ता पारियो । भारतबाट आएको एक महिना भएको थियो,’ मालीले बताइन् । मणिरामलाई माओवादी भएको आरोपमा समाएर लगिएको भन्ने सुनेको तर आफ्नो छोरा माओवादी नभएको उनले बताइन् । वर्षौं बितिसक्दा पनि छोराको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआएको उनको गुनासो छ ।

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा लिवाङमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै उनले हरेकपटक यस्ता कार्यक्रम हुँदा छोरा जीवित भएको खबर आउँछ कि भन्ने आशाले आफू कार्यक्रममा आउने गरेको बताइन् । कार्यक्रमहरू हुँदा छोरा जिउँदो भएको खबर पो सुनिन्छ कि भनेर आउने गरिरहन्छु । कि लास कि सासको टुंगो लगाइदिए हुने । युद्ध सकिएको यत्रो वर्षमा पनि अत्तोपत्तो छैन,’ मालीले बताइन् ।उनका लागि छोरा फर्किएर आउने सम्भावना समयसँगै कमजोर हुँदै गए पनि पूर्ण रूपमा आशा भने मरिसकेको छैन । राज्यले आधिकारिक रूपमा मृत्यु भएको पुष्टि नगरेसम्म छोराको मृत्यु भएको विश्वास गर्न नसकिने उनको भनाइ छ ।

रोल्पा नगरपालिका–७ जङ्कोटका ७२ वर्षीय दलराज सुनारको पीडा पनि उस्तै छ । उनका छोरा द्वन्द्वका क्रममा राज्य पक्षबाट बेपत्ता पारिएको उनले बताएका छन् । रोजगारीका लागि काठमाडौंमा इँटाभट्टामा काम गर्न जाने क्रममा छोरा बेपत्ता भएको उनले बताए । दलराजका अनुसार द्वन्द्वको समयमा गाउँमा माओवादीको गतिविधि बढेको थियो । गाउँमा बस्न असहज भएपछि उनका छोराले आमासँग सल्लाह गरेर काठमाडौं जाने निर्णय गरेका थिए । रोजगारीका लागि घरबाट हिँडेका छोरा त्यसपछि कहिल्यै फर्किएनन् ।

छोरालाई राज्य पक्षले बेपत्ता पारेको जानकारी आफूले पाएको उनले बताए । पछि खोलामा मारिएको भन्ने हल्लासमेत सुनेको तर छोराको शव भने कहिल्यै नदेखेको उनले बताए । इँटाभट्टामा काम गर्न जाँदा राज्य पक्षले बेपत्ता पारेको हो । खोलामा मारेको भन्ने कुरा सुनियो तर लास देखिएन,’ दलराजले बताए ।
छोरा कुनै राजनीतिक दलमा आबद्ध नभएको र परिवारलाई गाउँमा बस्नसमेत असहज अवस्था बनेपछि रोजगारीका लागि काठमाडौं जान लागेको उनले बताए । तर, त्यही यात्राका क्रममा छोरा बेपत्ता भएको उनको भनाइ छ ।

‘कुनै पार्टीमा थिएन । घरमा पनि माओवादीले बस्न नदिने भएपछि काठमाडौं जाँदा बेपत्ता पारियो,’ उनले बताए । छोराको शव नदेखेकाले आफूले अहिलेसम्म छोराको मृत्यु भएको विश्वास गर्न नसकेको दलराजले बताए । धेरै वर्ष बितिसक्दा पनि कतैबाट छोरा फर्किएर आइहाल्छ कि भन्ने आशा मनमा बाँकी रहेको उनले बताए । फर्केर आउँछ, आउँछ भन्ने भयो । यत्रो वर्ष भइसक्यो । अब त आशा पनि मर्ने जस्तो भइसक्यो,’ उनले बताए । द्वन्द्वका क्रममा आफूले समेत निकै दुःख पाएको दलराजले बताए । तत्कालीन समयमा माओवादी पक्षले आफूलाई १८ महिनासम्म विभिन्न ठाउँमा हिँडाएको र परिवारका अन्य सदस्यलाई समेत दुःख दिएको उनले बताए । त्यसपछि छोरा बेपत्ता भएपछि परिवारको पीडा थपिएको उनले बताए ।

छोराको खोजीका लागि आफूले विभिन्न ठाउँमा जानकारी गराएको भए पनि अहिलेसम्म ठोस परिणाम नआएको उनले बताए । अब आफूलाई दोषी को हो भन्नेभन्दा पनि छोराको वास्तविक अवस्था थाहा पाउनु महत्त्वपूर्ण भएको उनको भनाइ छ । मैले सबैतिर भनेँ । जुन पक्षले भए पनि मारेको हो भने भनिदिनुपर्‍यो । हामीलाई सास चाहियो,’ उनले बताए । छोरालाई आफूहरूले कतै लुकाएर राखेको हो कि, कुनै दिन फर्किएर आउने हो कि भन्ने आशा अझै रहेको उनले बताए । राज्यले आधिकारिक रूपमा मृत्यु पुष्टि नगरेसम्म आफूले छोरा मरिसकेको विश्वास गर्न नसक्ने उनले बताए । उनीहरूले मारेको भनेर स्वीकार्ने भए । कतैबाट छोरा आइहाल्छ कि भन्ने मात्र लाग्छ । मरेकै भन्ने विश्वास लाग्दैन,’ उनले बताए ।

रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले सशस्त्र द्वन्द्व अन्त्य भई शान्ति स्थापना भएको करिब २० वर्ष पुग्दासमेत बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद भएको बताए । द्वन्द्वबाट पीडित परिवारले लामो समयसम्म न्याय र सत्यको प्रतीक्षा गर्नु राज्यका लागि गम्भीर विषय भएको उनले बताए । राजनीतिक अस्थिरताका कारण संक्रमणकालीन न्यायको प्रक्रिया लामो समयदेखि प्रभावित भएको उनले बताए । सरकार परिवर्तन भइरहने र कुनै पनि सरकारले पर्याप्त समय काम गर्न नपाउने अवस्थाले पनि बेपत्ता व्यक्तिको खोजी र सत्यतथ्य सार्वजनिक गर्ने प्रक्रिया ढिलो भएको उनले बताए ।

‘हाम्रो देशमा शान्ति स्थापना भएपछि राजनीतिक अस्थिरता भयो । जुनसुकै सरकार आए पनि धेरै टिक्न नपाउने, उसले काम गर्न नपाउँदै सरकार टुट्ने अवस्थाले गर्दा पनि ढिलो भइरहेको अवस्था हो,’ नगरप्रमुख घर्तीले बताए ।बेपत्ता व्यक्तिको सूचीमा रहेका व्यक्तिका परिवार अझै पनि आफ्ना आफन्त फर्किएर आउँछन् कि भन्ने आशामा रहेको उनले बताए । तर, वर्षौंसम्म फर्केर नआएपछि परिवारमा उनीहरूको मृत्यु भएको हुनसक्ने आशंका बढ्दै गएको उनले बताए । राज्यले आधिकारिक रूपमा घोषणा नगरेसम्म भने कुनै निष्कर्षमा पुग्न नसकिने उनले बताए ।

‘बेपत्ताको लिस्टमा भएकाहरू कतै फर्किएर आउँछन् कि भन्ने आशामा छन् । वर्षौंसम्म पनि फर्केर नआउँदा फेरि मारिएका छन् कि भन्ने स्पष्ट हुन्छ । आधिकारिक रूपमा राज्यले नभन्दासम्म भन्न सकिँदैन । आधिकारिक रूपमा राज्यले भन्नुपर्ने हो,’ घर्तीले बताए । उनका अनुसार बेपत्ता पारिएका व्यक्तिका परिवारलाई अनिश्चितताको अवस्थाबाट बाहिर निकाल्न राज्यले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता छ । पीडित परिवारलाई वर्षौंसम्म पर्खाइमा राखिरहनु न्यायोचित नहुने उनले बताए ।

रोल्पामा बेपत्ता पारिएका व्यक्तिको संख्याबारे सरकारी र नेपाल रेडक्रस सोसाइटीको तथ्याङ्कमा समेत फरक देखिएको छ । सरकारी तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका क्रममा रोल्पाका ३३ जना बेपत्ता भएको उल्लेख छ । तर, नेपाल रेडक्रस सोसाइटीको तथ्याङ्कअनुसार जिल्लामा ६५ जना नागरिक बेपत्ता छन् ।
तथ्याङ्कमा देखिएको फरकले समेत बेपत्ता व्यक्तिको खोजी, पहिचान र अभिलेखीकरणको काम अझै पूर्ण नभएको देखाउँछ । बेपत्ता पारिएका व्यक्तिको परिवारले भने संख्या जति भए पनि प्रत्येक परिवारका लागि एउटा बेपत्ता आफन्तको पीडा समान रूपमा गम्भीर रहेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी पीडित परिवारले सरकारले बेपत्ता पारिएका व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्नुपर्ने, सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र परिवारलाई न्याय तथा परिपूरणको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । उनीहरूले आफन्तको अवस्थाबारे आधिकारिक जानकारी नहुँदा सामाजिक, कानुनी र मानसिक रूपमा समेत समस्या भोग्नुपरेको बताएका थिए ।बेपत्ता परिवारका लागि अन्तर्राष्ट्रिय बेपत्ता दिवस केवल सम्झनाको दिन मात्र नभई राज्यलाई आफ्नो जिम्मेवारी सम्झाउने अवसरसमेत बनेको छ । वर्षौंसम्म आफन्तको बाटो हेरेर बसेका परिवारले अब अनिश्चितताको अन्त्य चाहेका छन् । उनीहरूका लागि मृत्युभन्दा पनि ठूलो पीडा आफन्तको अवस्थाबारे सत्य थाहा नहुनु बनेको छ ।

रोल्पाका बेपत्ता परिवारको आवाज एउटै छ—आफन्त जीवित छन् भने खोजेर घर फर्काइदिनुपर्ने र मृत्यु भएको हो भने आधिकारिक रूपमा सत्य सार्वजनिक गरी अन्तिम संस्कार गर्ने वातावरण बनाउनुपर्ने । दुई दशक लामो प्रतीक्षापछि पनि सत्यको खोजीमा रहेका परिवारले अब आश्वासनभन्दा परिणाम चाहेका छन् ।सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष वा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्नु संक्रमणकालीन न्यायको प्रमुख दायित्वमध्ये एक हो । तर, द्वन्द्व अन्त्य भएको लामो समय बितिसक्दा पनि धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे स्पष्ट जानकारी पाउन सकेका छैनन्।

लिवाङमा प्रज्वलित गरिएका मैनबत्तीले बेपत्ता पारिएका नागरिकको सम्झनालाई मात्र उज्यालो बनाएको छैन, उनीहरूका परिवारको वर्षौंदेखिको प्रश्नलाई पनि फेरि सार्वजनिक गरेको छ । ती परिवारको प्रश्न एउटै छ—‘हाम्रा आफन्त कहाँ छन् ’अब राज्यले यो प्रश्नको जवाफ दिनुपर्ने समय आएको पीडित परिवारको भनाइ छ । बेपत्ता आफन्तको सास वा लासको टुंगो नलागेसम्म उनीहरूको पीडा समाप्त नहुने भएकाले सत्यतथ्य सार्वजनिक गरी न्यायको प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?